नइलाई डा. कपिल उपाध्यायबाट २३ लाख सहयोग

न्युज डेस्क / एचकेनेपाल डट कम –
काठमाडौं, २९ अक्टोबर। नइ प्रकाशनको अक्षयकोष वृद्धिका लागि डा. कपिलदेव उपाध्यायले उदारतापूर्वक तेईस लाख रुपैयाँ प्रदान गरेका छन्। कपिलदेवले नइ प्रकाशनकी कुलपति श्रीमती इन्दिरा प्रसाईलाई चेक हस्तान्तरण गरेका हुन्।

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा. उपाध्यायको संयोजनमा स्थापना गरिएको पचास हजार रुपैयाँ राशिको ‘नइ कपिल शोध पुरस्कार’ राष्ट्रकवि डा. माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठी, नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरी र नइ प्रकाशनमध्ये कुनै एकको योगदानका विषयमा नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने वा नइ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधार्थीलाई प्रदान गरिनेछ।

साथै नइ प्रकाशनले डा. उपाध्यायको आर्थिक संयोजनमा बाजुरा र हुम्ला जिल्लाका एक-एक जना जेहेन्दार छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको छ। यो पुरस्कारले दुर्गम क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक यात्रामा उत्प्रेरणा र सहयोग पुर्‍याउने आशा गरिएको छ।

नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड असी लाख रुपैयाँ सञ्चित रहेको जानकारी नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले दिएका छन्। प्रसाईका अनुसार, यस अक्षयकोषको व्याजबाट नइले वार्षिक रूपमा तीस वटा विभिन्न पुरस्कारहरू प्रदान गर्ने गौरवशाली परम्परा कायम गरेको छ।





Comments

comments

127369