कोलोराडोको बोल्डर शहरमा देउसीभैलोसँगै सामूहिक कुकुर पूजा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बोल्डर शहरमा देउसी भैलो सँगै सामूहिक कुकुर पूजा सम्पन्न भएको छ।

कोलोराडोमा क्रियाशील नेपाली जात्राको आयोजनामा स्थानीय अमेरिकी तथा नेपालीभाषी समुदायको सहभागितामा देउसी भैलो सँगै सामूहिक कुकुर पूजा कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय अमेरिकीहरूलाई हिन्दू संस्कृतिको परिचय गराउन तथा अमेरिकामा अत्यन्त लोकप्रिय कुकुरलाई कसरी पूजा गरिन्छ भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको नेपाली जात्राकी संयोजक सुनन्दा डंगोलले बताएकी छिन्।

City of Boulder Housing and Human Services र Rocky Mountain Equality को सहयोगमा सम्पन्न देउसी भैलो सँगै सामूहिक कुकुर पूजा कार्यक्रममा ७० जना स्थानीयहरुले सहभागिताको लागि रजिष्ट्रेशन गराएका थिए। कार्यक्रममा स्मृति श्रेष्ठ प्रधानले देउसी भैलो तथा कुकुर पूजाको संस्कृति कसरी र कहिलेदेखि शुरु भयो भन्ने जानकारी गराएकी थिइन्। कार्यक्रममा झण्डै दुई दर्जनभन्दा बढी कुकुरहरूको सामूहिक पूजा गरी खाना खुवाइएको थियो।

कार्यक्रममा ७ सय २७ डलर संकलन भएको र सो रकम नेपाली सांस्कृतिक भवनको सहयोगार्थ नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्।





Comments

comments

127372