न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ डिसेम्बर। चीनको बेइजिङबाट उपहारस्वरूप प्राप्त भएका दुई विशाल पाण्डाहरू दुई महिने क्वारेन्टाइन पछि डिसेम्बर ८ देखि सर्वसाधारणको लागि खुला गरिने ओसन पार्कले जनाएको छ।
सोमबार प्रेस मिटका क्रममा, दुवै पाण्डा क्यामराका अगाडि देखिए। के के अलि शान्त र सौम्य स्वभावको देखिएका थिए भने आन आन अत्यन्त ऊर्जावान र जीवन्त देखिए।
पार्कका अनुसार पाँच वर्षीय पाण्डाहरू आन आन र के के आफ्नो नयाँ घरमा राम्ररी बसोबास गरिरहेका छन् र दैनिक करिब १० किलो बाँस खाइरहेका छन्।
दुवै पाण्डा हङकङ जकी क्लब सिचुआन ट्रेजर्समा आफ्नै बासस्थानमा बस्छन्। यहाँ विशेष रूपमा डिजाइन गरिएका प्लास्टिकका बल र खानाले भरिएका ट्युबहरू छन्।
उनीहरुका लागि चढ्ने फ्रेम र खोक्रो रुखका ठुटाहरू बनाइएका छन्। जहाँ तापक्रम १९ डिग्रीमा कायम राखिएको छ। यस व्यवस्थाले पाण्डाहरूलाई एक अर्कासँग अन्तरक्रिया गर्न र स्थान साटफेर गर्न सक्ने बनाएको छ।
उनीहरुलाई भेट्न सिचुआन ट्रेजर्सको नजिकै ३०० देखि ४०० आगन्तुकहरूका लागि प्रतीक्षालय बनाइएको छ।
पाण्डाहरूको आधिकारिक स्वागत समारोह यही शनिबार हुनेछ। मुख्य कार्यकारी जोन ली का-चिउले पाण्डाको नामाकरण प्रतियोगिताका विजेताको नतिजा घोषणा गर्नेछन्।
यसैबीच, हङकङमा जन्मिएका पाण्डाका बच्चाहरू फेब्रुअरीमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।