एचकेनेपाल डट कम – काठमाडौं । नेपालको ऐतिहासिक सम्पदा धरहराले पर्यटकहरूको ध्यान तान्न सफल भएको छ । मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहराले दुई सातामै उल्लेखनीय आम्दानी गर्न सफल भएको छ।
धरहरा सञ्चालन इकाई कार्यालयका अनुसार दैनिक औसत १,१११ जना पर्यटकहरूले धरहरा भ्रमण गरिरहेका छन् । यो सङ्ख्या प्रारम्भिक लक्ष्यभन्दा बढी हो। विशेषगरी बिहान र बेलुकीको समयमा पर्यटकहरूको घुइँचो बढी हुने गरेको छ।
धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईका अनुसार शनिबार र आइतबारका दिनहरूमा भ्रमणकर्ताको सङ्ख्या अझै बढी हुने गरेको छ। उनले भने, “यो आम्दानीले धरहराको दीर्घकालीन व्यवस्थापन र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने छ।”
टिकटको मूल्य वयस्कका लागि रु. २०० र विद्यार्थीका लागि रु. १०० तोकिएको छ। धरहराको भ्रमणले काठमाडौंको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।