काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै सरकारी सेवाको प्रभावकारिता र जवाफदेहिताको बारेमा टिप्पणी गरेका छन्। उनले विशेष गरी नगर प्रहरीको भूमिकामा जोड दिँदै, यसलाई जनताको सुरक्षा र सेवाको प्रतीकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।
“नगर प्रहरी जनताको साथी र रक्षक हो,” प्रधानमन्त्री ओलीले भने। “जनताले नगर प्रहरीलाई देख्दा सुरक्षाको अनुभूति गर्नुपर्छ, डर र त्रास होइन।” उनले सरकारी कर्मचारीहरूलाई जनताप्रति सेवाभाव राख्न र घमण्डरहित व्यवहार गर्न आग्रह गरे।
प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाईमा सरकारको दृढ प्रतिबद्धता दोहोर्याउँदै भने, “भ्रष्टाचारीको पहिचान र कारबाही निष्पक्ष र न्यायोचित हुनेछ। कसैको मुख हेरेर होइन, अपराधको गम्भीरता हेरेर कारबाही हुनेछ।”
कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सीताराम हाछेथुलाई उनको उत्कृष्ट कार्यको लागि सम्मान गरियो। हाछेथुको नेतृत्वमा नगर प्रहरीले शहरको सरसफाई, सांस्कृतिक सम्पदाको संरक्षण, र विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएको छ।