कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ।
दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ। प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो। त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए।
‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ।’ नयाँ पत्रिका दैनिकमा खबर छ।
फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो। चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो। जसले घटनाको अनुसन्धानलाई सहज बनायो।
तीन सय ८५ जनाले ढाँटेको पुष्टि
हालसम्मका एक हजार १५ मध्ये पोलिग्राफ टेस्टमा तीन सय ८५ जनाले ढाँटेको पुष्टि भएको थियो। ६५ जना अभियुक्तले पोलिग्राफ टेस्ट गर्नेबित्तिकै अपराध स्विकारेका थिए। त्यसअघि प्रहरीले पटक–पटक सोध्दा पनि उनीहरूले अपराध स्विकारेका थिएनन्।
त्यस्तै अनुसन्धानमा तानिएका चार सय ९० जनाले भने सोधपुछकै क्रममा नढाँटेको पोलिग्राफ टेस्टको रिपोर्ट आएको थियो। टेस्ट गरिएकामध्ये ७५ जनाको अस्पष्ट रिपोर्ट आएको छ । पोलिग्राफले अभियुक्त पत्ता लाग्ने मात्र होइन अनुसन्धानका लागि पक्राउ परेका निर्दोष व्यक्ति पनि छुट्ने गरेका छन् ।
यसरी पत्ता लाग्छ झुटो बोलेको
पोलिग्राफ टेस्टलाई विश्वसनीयता परीक्षण गर्ने प्रणाली मानिन्छ । कुनै पनि कुरा लुकाउन खोज्दा त्यसको प्रभाव दिमागमा पर्ने र दिमागबाट शरीरका विभिन्न अंगमा पर्ने गर्दछ । शरीरका अंगमा पर्ने असर मापन गरी झुटो बोले–नबोलेको पोलिग्राफ मेसिनले पत्ता लगाउँछ । ‘जब कसैले झुटो बोल्छ, शरीरले रक्षात्मक प्रतिक्रिया देखाउँछ,’ केन्द्रीय पोलिग्राफ केन्द्रका इन्स्पेक्टर गणेश श्रेष्ठ भन्छन्, ‘त्यसलाई हामी डिटेक्ट गरेर झुट बोले–नबोलेको पत्ता लगाउँछौँ ।’ झुटो बोलेको अवस्थामा शरीरमा प्रवाह हुने प्रतिक्रिया फरक हुने भएकाले त्यसकै आधारमा पोलिग्राफ मेसिनले पत्ता लगाउने गर्दछ । मुटुको धड्कन, श्वासप्रश्वास, छालामा बग्ने करेन्ट तथा पसिनाको थैलीमा पर्ने प्रेसर र शरीरमा रगतको प्रवाहका आधारमा कुनै पनि आरोपीले झुट बोले–नबोलेको पत्ता लाग्छ । पोलिग्राफ मेसिन जडान गरेपछि प्रहरीले सोधपुछ गर्दा निश्चित तहभन्दा माथि शरीरको प्रतिक्रिया देखेमा झुट बोलेको रिपोर्ट आउने गर्दछ । कसैले झुट नबोलेको देखाउन कृत्रिम धड्कन, श्वासप्रश्वास नियन्त्रण गर्न खोजे पनि ‘काउन्टर मेजर सेन्सर’बाट पत्ता लाग्ने इन्स्पेक्टर श्रेष्ठले बताए ।