काठमाडौं, सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर गएको ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पले आज बिहान त्रासमा पारेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ठिक २ बजेर ५१ मिनेटमा गएको थियो, जसको असर काठमाडौं उपत्यकासहित देशका केही भागमा महसुस गरिएको थियो।
रातको समयमा गहिरो निद्रामा रहेका नागरिकहरू एकाएक जमिन हल्लिँदा आत्तिएर घरबाहिर निस्किए। विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पको पीडादायी स्मरण ताजा भएका काठमाडौंवासी झनै सशंकित बने।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, “भूकम्पको धक्काबाट आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोक कारागारका एक कैदी घाइते भएका छन्। उनको हात भाँचिएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, तर उनको अवस्था गम्भीर छैन।” यस्तै, कोदारीस्थित इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि जानकारी प्राप्त भएको छ।
गत पुस ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि ४ म्याग्निच्युडभन्दा माथिका एक दर्जन भन्दा बढी परकम्पहरू गइसकेका छन्। भूकम्प विशेषज्ञहरूका अनुसार नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्ने भएकाले यस किसिमका भूकम्पहरू आइरहने सम्भावना रहन्छ। अरु विवरण आउन बाँकी छ।