कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु..

रौतहट, रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको ज्यान गएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा भएको यस दुर्घटनामा गरुडा निवासी ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान सवा ६ बजे हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा. ६ च. ३५२६ नम्बरको कारले निजगढतर्फ जाँदै गरेको ना. ३ प. ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागी स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

उर्मिला देवीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि एलएस न्युरो अस्पताल बारा रेफर गरिएकोमा बिहान ९ बजे उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो।

प्रहरीले हेटौँडा उपमहानगरपालिका १२ निवासी ४३ वर्षीय कार चालक कुमार पोख्रेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।





Comments

comments

130944