वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अनेसास कोलोराडो शाखाको आयोजनामा आइतबार वेस्टमिनिस्टरस्थित नेपाली घरमा लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कवि, गीतकार तथा पत्रकार डा. नवराज लम्साल आफ्नो साहित्यिक यात्राका क्रममा अमेरिकाको विभिन्न स्टेटहरूको यात्रामा छन्। स्थानीय स्रष्टाहरूसँग आफ्नो जीवनको आरोह अवरोह सुनाउँदै, आफ्ना रचना वाचन गर्दै तथा स्थानीय साहित्यकारहरूसँग साक्षात्कार गर्दै उनी कोलोराडो आइपुगेका हुन्। अमेरिकामा उनको यो १६ औं औपचारिक कार्यक्रम हो।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो। कार्यक्रममा सुरुमा स्थानीय साहित्यकारद्वय ज्ञानेन्द्र गदाल र पदम विश्वकर्माले साहित्यकार लम्सालको व्यक्तित्व, उनले नेपाली साहित्यमा पुर्‍याएको योगदान तथा कृतिबारे प्रकाश पारेका थिए।

धादिङ जिल्लाको ज्यामरुङमा जन्मेका नवराज लम्साल उच्चशिक्षा हासिल गर्न काठमाडौं छिरेका थिए। नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय दुवैबाट उच्च शिक्षा अध्ययन गरेका डा. नवराज लम्सालले जीवनका विभिन्न भोगाइहरू सुनाए। करिब दुई घण्टाको प्रस्तुतिमा उनले बाल्यकालदेखि रेडियो नेपालबाट अवकाश लिँदासम्मको कथा सुनाए। डा. लम्सालका अग्नि, कर्ण, धारा जस्ता महाकाव्यको रचना कथा पनि सुनाए। यी महाकाव्यका विभिन्न कविताहरू पनि डा. लम्सालले कार्यक्रममा वाचन गरे। उनका कविता संग्रह, गीत संग्रह गरी जम्मा ८ वटा कृति प्रकाशित भइसकेका छन्।

रेडियो नेपालको बहुचर्चित कार्यक्रम मधुवन, स्वर संगम, जनतासँग प्रधानमन्त्री जस्ता कार्यक्रम सञ्चालन गरेका कोकिलकण्ठी नवराजले २० वर्ष रेडियोमा काम गर्दै बाहिरिँदा निर्देशक पदमा कार्यरत रहेका थिए। त्यति मात्र होइन, उनले नेपालमा बहुचर्चित रेडियो बिबिसी नेपाली सेवामा पनि १० वर्ष काम गरेका थिए।

एक ब्राह्मण पण्डितको परिवारमा जन्मिहुर्केका नवराज स्वयं संस्कृत विश्वविद्यालयका विद्यार्थी थिए। तर उनले समाजमा रहेका सीमान्तकृत वर्गहरूको अवस्था चित्रण गर्ने ‘अग्नि’ जस्तो महाकाव्य लेखी २०७८ सालमा मदन पुरस्कारबाट सम्मानित भए। उनले यसबाहेक देश तथा विदेशबाट थुप्रै मान सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन्। उनलाई अनेसास कोलोराडो शाखाको तर्फबाट अध्यक्ष किरण अधिकारीले सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।

अनेसास केन्द्रीय कार्यसमितिकी कोषाध्यक्ष तारा अधिकारीद्वारा सञ्चालित कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका पदाधिकारी, गणमान्य, बुद्धिजीवी, साहित्यकार, कलाकार, पत्रकार तथा नेपालीभाषी बाआमा दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति किरण अधिकारीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहभागी सबै स्रष्टा तथा स्थानीय साहित्यप्रेमीहरूलाई धन्यवाद दिएका थिए।

जागिर छाडेर पूर्णकालीन रूपमा काव्य सृजना तथा प्रस्तुतिमा लागेका नवराजको भावी साहित्य यात्रा सफल रहोस्।





Comments

comments

130971