काठमाडौं, २७ भदौ २०८२ – जेनजी समूह र नेपाली सेनाबीच आज निर्णायक वार्ता हुँदैछ। बुधबार तय भएको वार्ता विभिन्न समूहको उपस्थितिले औपचारिकता लिन नसकेपछि सेनाले एकजुट भई नेता छानेर वार्तामा आउन आग्रह गरेको छ।
जेनजीको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री प्रस्ताव गरेको छ, जसलाई काठमाडौंका मेयर बालेन शाहले समर्थन गरेका छन्। यता, दुर्गा प्रसाईं र धरानका मेयर हर्क साम्पाङ पनि जंगी अड्डा पुगेर आ-आफ्नो पक्ष राखेका छन्। प्रसाईंले कार्की वा शाहलाई स्वीकार्य मानेका छन् भने साम्पाङले नेतृत्व लिन इच्छुक रहेको बताए।
राष्ट्रपतिसँग नभई सेनासँग वार्ता गर्न जेनजी समूह गएको विषयमा विभिन्न विश्लेषण भइरहेको छ। गत सोमबार र मंगलबारको जेनजी आन्दोलनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।