सडकमै चालकको आँखा परीक्षण

सन्दर्भ तस्बिर

गुल्मी । गुल्मीको धुर्कोट वस्तुदेखि तम्घाससम्म नियमित जीप चलाउने चालक राजु श्रेष्ठको जीप आज बिहान प्रहरीको समूहले तम्घासको उदिनढुङ्गामा रोक्यो।

उनी आफूले बढी यात्रु नराखेको र मापसे नगरेको कारण प्रहरीसँग ढुक्क थिए। तर प्रहरीले गाडी साइड लगाएर श्रेष्ठलाई आँखा जाँच गर्न पठायो । उनले प्रहरीबाट यात्रु सङ्ख्या, बिलबुक, लाइसेन्स जाँच गर्ने अनुमान गरेका थिए । श्रेष्ठको अनुमानको ठीक विपरीत भयो। केहीबेरमै उनको आँखा परीक्षण गरियो।

“एकथोक सोचेरे गाडी रोकेको, आँखा परीक्षण गरियो, प्रहरीले राम्रो गर्‍याे”, उनले भने, “आँखा जाँच गराउन पाउँदा खुसी लागेको छ ।” जैसिथोक–तम्घास सवारी चलाउने चालक मीनबहादुर खत्रीको पनि आज सडकमै आँखा परीक्षण भयो।

एकाएक गाडी रोक्न भनेपछि दङ्ग पर्नुभएका खत्रीलाई प्रहरीले गाडी र यात्रुको अवस्थाभन्दा उहाँकै आँखाको अवस्थाको परीक्षण गरायो । परीक्षणका क्रममा कुनै रोग नदेखिए पनि आँखा परीक्षण गराएकामा खत्री खुसी छन्।

श्रेष्ठ र खत्री र आँखा परीक्षण गराउनेमध्येका केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै बिहीबार १०१ चालकको सडकमै आँखा परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी सझेदारी कार्यक्रमअन्तरगत नेपाल नेत्र ज्योती सङ्घ आँखा उपचार केन्द्रसँगको समन्वयमा आज गाउँबाट सदरमुकाम तम्घास आएका सवारी चालकको आँखा परीक्षण गरेको थियो।

परीक्षणको क्रममा सातजनाको आँखा उपचार गर्नुपर्ने भएकाले आँखा उपचार केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको केन्द्रका प्रमुख सूर्य बस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले दुर्घटनामा कमी ल्याउन गुल्मी प्रहरीले नयाँ अभियान सञ्चालन गरेको बताए। “पछिल्लो छ महिनामा मात्रै सडक दुर्घटनाबाट ६ जनाको ज्यान गएको छ”, उहाँले भन्नुभयो, “हामी त्यो दर घटाउन चाहन्छौँ।”





Comments

comments

137981