नरेन्द्रराज प्रसाई –
बुलु शर्मा सत्याल संवत् १९८५ भदौ २२ गते बनारसको नामी रामपुराको नेपाली कोठीमा जन्मेकी थिइन्। शर्माका अनुसार त्यस घडी बनारसमा त्यो घर नेपाली कोठीका रूपमा प्रख्यात थियो । जमिनदार शारदाप्रसाद उपाध्याय र सुशीला उपाध्यायकी छोरी शर्माले त्यसै घरमा कखरा पढिन्। धनीकी छोरी भए तापनि उनले लगातार स्कुल गएर पढ्न पाइनन् । सात कक्षा पढ्दापढ्दै यिनले फेरि स्कुल छाड्नुपरेको थियो।
शर्माका ठूलो बुबा अम्बिकाप्रसाद उपाध्याय र ठूली आमा अम्बालिकादेवी धनी भईकन सौखिन पनि थिए । त्यसैले पटनामा गर्मी हुँदा उनीहरू पहाडी इलाकातिर जान्थे । उनीहरू गर्मी महिनामा प्रायः सिमला, मुसुरी, नैनीताल, दार्जिलिङ आदि ठाउँ घुम्थे । त्यस यात्रामा शर्मा पनि सरिक हुन्थिन् । चाहे घरमा होस्, चाहे यात्रामा होस्; शर्मा अनुशासित, शिष्ट र आज्ञाकारी स्वभावकी थिइन् । उनी असल गुणले बाँधिएकी थिइन् र अत्यन्तै सोझी पनि थिइन् । सारै सोझी भएकाले घरका सबैले यिनलाई ऋषिकन्या भनेर बोलाउँथे । त्यस शब्दले सम्बोधन गर्दा यी पनि सारै खुसी हुन्थिन् र मक्ख पर्थिन्।
शर्मा सानामा गीत गाउँथिन् । यिनलाई हार्मोनियम सिकाउने गुरु घरमै आउँथे । यिनका दाजु अर्थात् ठूली आमाका छोरा सूर्यप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेसका नेता) एकपटक नेपालबाट पटना जाँदा शर्माले गीत गाएकी थिइन् । तर उपाध्यायलाई आफ्नी चेलीबाट गाइएको हुँदा त्यो गीत चित्तै बुझेन । केटीले गीत गाउन हुँदैन भन्ने उनका दाजुको चाहना थियो । वास्तवमा त्यस विषयले शर्माका मनका नेपाल र नेपालीप्रति वितृष्णाका लहर सृजना भएका थिए।
शर्माको बिहेको प्रसङ्ग पनि नेपालमा नै चल्यो । त्यस विषयमा पनि सूर्यप्रसाद उपाध्यायको गीतगायनका प्रसङ्गलाई सम्झेर यिनले नेपालीप्रति त्यति सकारात्मक धारणा राखिनन् । जे भए पनि यिनलाई हेर्न मान्छेहरू काठमाडौंबाट बनारस पुगेका थिए । यिनलाई हेराउने हिसाबले त्यहाँ सिनेमाहलमा पाँच जना नौला नेपालीहरूका लागि टिकटको पनि बन्दोबस्त भयो । सिनेमाहलमा तिनीहरू शर्माका अगाडि बसेका थिए । तिनीहरू घरीघरी पछाडि फर्केर शर्मालाई हेर्थे । त्यसै बेला शर्माकी आमा बोलेकी थिइन् “ए नानी ! चस्मा फुकाल, चस्मा लगाउन हुँदैन । तिमीलाई हेर्न नेपालबाट मान्छे आएका छन्, कस्ती उत्ताउली भन्छन्, चस्मा फुकाल नानी !” आमाका कुरामा शर्माले भनिन् “चस्मा फुकालेर कसरी सिनेमा हेर्नू?”
आमाका संवाद सुनेर शर्मा छक्क परिन् । नेपाल कस्तो विचित्रको ठाउँ रहेछ ? केटीले गीत पनि गाउन नहुने, चस्मा पनि लाउन नहुने ! अन्ततः त्यो कस्तो ठाउँ होला भन्ने उनी मनमनै सोच्न लागिन् । वास्तवमा त्यति बेला बिहे गरेर नेपालमा नजाने अठोट उनले गरिसकेकी थिइन् । तर पनि चौध वर्ष पुगेपछि शर्माको बिहे भएरै छाड्यो । काठमाडौं गैरीधाराका नोदराज सत्यालसँग १९९९ सालमा उनको वैवाहिक जीवन कायम भयो । शर्माका ससुरा मेदनीराज सत्यालचाहिँ श्री ३ जुद्धका भारदार थिए।
शर्मा बनारसबाट दुलहा र जन्तीसहित नेपाल आउने निधो भयो । नेपाल आउन उनीहरू बनारसबाट रेल चढे । उनीहरू रेलबाट रक्सौलमा ओर्ली वीरगन्ज पसे । त्यहाँबाट त्यो लस्कर भीमफेदीको उकालो लाग्यो । त्यहाँको पहाडी मनोरम दृश्य, कलकल बग्ने खोला, छ्याङछ्याङ झर्ने झरनाबाट शर्मा मोहित भएकी थिइन् । त्यसै परिवेशमा उनी गीत गुनगुनाउन पनि थालिन् । उनका गीतका भाकामा २० वर्षीय दुलहा गदगद हुने गर्थे । बास बस्तै उनीहरू काठमाडौंतिर लागेका थिए।
बरियाँतले काठमाडौं टेकेका दिन शर्माले यहाँ मोटर पनि देखिन् । थानकोटबाट मोटर चढी उनी आफ्नो निवास विशालनगर आइन् । केही समय काठमाडौं बसेपछि उनी बनारस गइन् । फेरि उनी काठमाडौं आइन् । उनको माइती र घरमा आउनेजाने क्रम जारी रह्यो।
शर्मा काठमाडौंमा आफ्नो घरधन्दामा लागिन् । ससुराको आज्ञाले घरमा चस्मा लाउन पनि थालिन् । तर घरबाहिर चस्मा नलगाउन उनलाई ससुराको विशेष निर्देशन नै थियो । चस्माबिना उनी सात फुट टाढाका मान्छे पनि चिन्दैनथिन्।
शर्मा काठमाडौंमा हात बाँधेर मात्र बसिनन् । त्यति बेला उनले टोलछिमेकका महिलाहरूलाई निःशुल्क स्वीटर बुन्न सिकाउन थालिन् । उनले सिलाइ, बुनाइ र कटाइ गर्ने काम पनि छिमेकीहरूलाई सिकाउन थालिन् । त्यति बेला आफ्नो खुल्लापनका कारणले उनी धेरैकी मनपर्ने भएकी थिइन्।
शर्माले बिहे गरेको नौ वर्षमा छोरो पाइन् । उदय जन्मेको दुई वर्षपछि यिनले छोरी पाइन् मुक्ता । मुक्ता जन्मेको छ वर्षपछि यिनले फेरि छोरो पाइन् । उनको नाउँ राखियो उज्ज्वल।
शर्माले पढाइ छाडेको दस वर्षपछि फेरि पढ्न रहर गरिन् । दुई छोरा र एक छोरी भएपछि उनले बनारसबाटै म्याट्रिक दिने विचार गरिन् । उनी माइतबाटै परीक्षामा सम्मिलित हुने भइन् । त्यसैले शर्माका बुबाले घरमा पढाउने एउटा गतिलो शिक्षक राखिदिएका थिए । परीक्षा आउन चार महिना बाँकी भए तापनि उनले हिम्मत हारिनन् । उनलाई म्याट्रिक पास गर्छु भन्ने पूर्ण विश्वास थियो । त्यसैले उनी रातोदिन घुँडाटेकाइमा लागिन्।
सात कक्षा पढेर स्कुल नगएकी विद्यार्थीका लागि म्याट्रिक परीक्षा अनौठो नै थियो । त्यसमाथि आपूmले पढेको एउटै प्रश्न पनि परीक्षामा आएको थिएन । त्यसैले शर्मा पहिलो दिनमा नै परीक्षा हलमा आधा घन्टा बसेर आफ्नो कापीमा सिम्बल नम्बर लेखेर बाहिर निस्किन् । एउटै प्रश्नको उत्तर दिन नपाएकामा उनी त्यो दिन झोक्राएर घर पुगिन् । आपूmले कुनै पनि प्रश्नको उत्तर नलेखेकोमा उनले खूबै पछुतो पनि मानिन्।
भोलिपल्ट पनि शर्मा परीक्षा दिन गइन् । त्यस दिन सजिलो प्रश्नपत्र परेको थियो । त्यसैले आत्मविश्वासका साथ उनले परीक्षा दिइन् । त्यही रीतले उनका सम्पूर्ण परीक्षा सम्पन्न भए । आफूले परीक्षा दिएकोमा उनलाई आत्मसन्तुष्टि भयो । त्यसपछि उनी काखे छोरो च्यापेर काठमाडौं आइन्।
काठमाडौंमा आएको केही महिनापछि शर्माले बनारसबाट आकाशवाणी पाइन् । उनी म्याट्रिकमा द्वितीय श्रेणीमा पास भएकी रहिछन् । साथै नेपालीमा सत्तरी नम्बर आउँदा सुरुका दिनमा छाडेको नेपालीमा समेत त्यही नम्बर जोडिएर उनी पास भएकी रहिछन् । सुत्केरी बस्न माइत गएका बेला म्याट्रिक परीक्षा दिएकाले उनले म्याट्रिक परीक्षा दिएको काठमाडौंमा कसैलाई थाहा थिएन । एकैचोटि बनारसबाट खबर आएपछि मात्र उनका घरपरिवारले उनी म्याट्रिक पास भएको थाहा पाएका थिए।
पढाइबाट केही वर्षसम्म विश्रान्ति लिएपछि शर्माले आई. ए. पढिन्; पास भइन् । फेरि उनी कलेज अफ एजुकेसनमा बी. एड. पढ्न भर्ना भइन् । त्यसै बेलादेखि उनले ‘गोरखापत्र’, ‘मधुपर्क’ र अन्य पत्रपत्रिकामा आफ्ना रचनाहरू छपाउन थालिन् र रेडियो नेपालमा पनि रचनाहरू दिन थालिन् । रेडियो नेपालको स्थापनापछि शर्माले लेखेको ‘समाज र प्रेमी’ नाउँको पहिलो रूपक प्रसारण भएको थियो । उक्त रूपक प्रसारण भएपछि धेरैले यिनको तारिफ गरे । त्यसपछि यिनी रूपकलेखनमा पनि लागिरहिन्।
म्याट्रिक पास गरेको दस वर्षमा शर्माले कलेज पढ्न थालेकाले उनलाई पढाइले निक्कै थिच्न थाल्यो । तर उनका पतिले उनलाई प्रोत्साहन दिइरहन्थे । उनका पतिले उनलाई पढ्ने वातावरण मिलाइदिइरहन्थे । उनैले बुलुलाई कलेजसम्म मोटरसाइकलबाट पुर्याउने र ल्याउने गर्थे । शर्मा आफ्ना लोग्नेको प्रेरणाले पढ्नेतिर प्रेरित भइरहिन् । उनी कलेजकी एउटी असल विद्यार्थीका रूपमा समेत परिचित भइरहिन्।
शर्माले कलेजमा पढ्दा सांस्कृतिक कार्यक्रममा भाग पनि लिइन् । त्यसबापत उनले पुरस्कार पनि पाइन् । त्यतिमात्र होइन उनले त्यसै बेला बी. एड. कक्षाकी मेधावी विद्यार्थीका रूपमा थप अर्को पनि पुरस्कार पाइन् । उनी यी सारा प्रोत्साहनबाट जति उत्साहित थिइन् सोबमोजिम उनी क्रमशः कलेजमा हाजिर भएर पढ्न सक्ने अवस्थाबाट वञ्चित हुन थालिन् । घरको व्यवहार नमिल्दा उनले निरन्तर कलेजमा गएर पढ्न पाइनन् । त्यसैले उनले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बी. ए. को फाराम भरिन् । उनी रातोदिन घोटिएर घरमै पढ्न थालिन् र पास पनि भइन् । पछि यिनले बी. एड. पनि पास गरिन्।
स्नातक भएपछि शर्माले कथा, कविता, निबन्धका अतिरिक्त गृहविज्ञानबारे पुस्तकहरू लेख्न थालिन् । त्यति बेलादेखि नै उनले यी विषयमा चासो दिएबापत यिनका ६ वटा पुस्तकहरू प्रकाशनमा आए।
शर्माले आफ्नो छोरो उदयको निधनपछि ‘जीवन, आनन्द र पीडा’ लेखिन् । त्यो कृति धेरै चर्चित बन्यो । यही कृतिले यिनलाई साहित्यकारमा स्थापित गराइदियो । यिनी निबन्धकारका रूपमा पनि खूबै चर्चित भइन् । त्यसपछि यिनको अर्को महत्वपूर्ण सृजनात्मक कृति निर्माण भयो ‘छुटेका पाइला’ । यो ग्रन्थ उनले आफ्ना लोग्ने स्वर्गीय भएपछि (२०५७ सालदेखि) लेख्न थालेकी थिइन् । खुसी र पीडा अनि जीवन र जगत्मा आधारित ‘छुटेका पाइला’ (२०६०) निबन्धसाहित्यको उत्कृष्ट कृति बन्यो । त्यो कृति अन्य भाषामा पनि अनुवाद भयो । यही कृतिमा शर्माले ‘भूपालमानसिंह कार्की कृति पुरस्कार’ पाइन् । साथै उनी महाकवि देवकोटा शताब्दी सम्मान, नेपाल सरकारबाट भानुभक्त पुरस्कार, विश्वनारी नेपाली साहित्य सम्मान र विश्वनारी नेपाली साहित्य पदकबाट पनि सम्मानित भइन्।
नइ प्रकाशनले बुलु शर्माका सम्मानमा गत वर्षदेखि नइ बुलु शर्मा पुरस्कारको स्थापना गरी समर्पण गर्दै आएको छ । हरेक वर्ष पचास हजार रुपियाँ राशि सहित ताम्रपत्रका साथ यो पुरस्कार काठामाडौं उपत्यका बाहिरका नारी स्रष्टालाई समर्पण गरिने छ।
शर्माले नेपाली साहित्यमा दुईवटा कृति समर्पण गरिन् र निबन्ध र आत्मकथाका फाँटमा प्रसिद्धि कमाइन् । उनी नेपाली भाषासाहित्यकी नअस्ताउने तारा बनिन् । यिनका दुवै कृतिले यिनलाई अमर बनाइदिए । वास्तवमा यिनको एउटा कृति छोराको वियोगमा आधारित छ भने अर्को कृति पनि लोग्ने स्वर्गीय भएको दुई महिनापछि लेख्न थालेर बरखीभित्र पूरा गरेकी थिइन् । सरल भाषा, उत्कृष्ट शैली र ओजिलो प्रस्तुतिसहित यिनका ती कृतिहरू चर्चित भए।
शर्मा नेपाल र भारतका विभिन्न भूभागमा घुमिन् । साथै उनले पाकिस्तान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, स्वीट्जरल्यान्ड र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिन् । उनी जहाँजहाँ पुगिन् आफ्ना डायरीका पाना लेख्तै भरिन् । ती कुरा जोडेर पनि यिनले ‘छुटेका पाइला’ लाई ठूलो पारिन्।
सरल व्यवहारले भरिएकी बुलु शर्मा सत्याल नेपाली साहित्यमा एउटी सुपरिचित नारीस्रष्टाको नाउँ हो । उनी साहित्यसृजनाकी प्रेरणा हुन् । सात दशक जीवन भोगिसकेपछि वियोगमा पर्दा पनि पूर्ण धैर्य लिएर ‘छुटेका पाइला’ नामक ओजपूर्ण कृति सिर्जना गर्ने बुलु साँच्चिकै सबैका निम्ति प्रेरक व्यक्तित्व नै भइन्। नेपाली भाषा साहित्यकी विशिष्ट प्रतिभा बुलु शर्मा झन्नै एक शताब्दी उमेर बाँचेर २०७४ साल असार ३० गते काठमाडौंमा स्वर्गीय भइन्।
यो पनि हेर्नुहोस् :
छुटेका पाइलाकी स्रष्टा बुलु शर्माबाट नइलाई ६ लाख सहयोग