नेपाली ध्वजावाहकको विश्वभर उडान

काठमाडौं, ९ असार । नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ ।

नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताए । उनले संसद्को विशेष समयमा शुक्रबार भने, ‘जापानसँगको सम्झौतापछि पर्यटकलाई सहजसमेत हुने भएको छ ।’
सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ । यसअघि २ मात्र उडान हुने व्यवस्था थियो । अब नेपाली एयरलाइन्सले ‘फिफ्थ अफ फ्लाइट’ पनि पाउनेछन् । जसअनुसार नेपालले जापानको एयरपोर्ट प्रयोग गरेर अमेरिकाबाहेकका मुलुकमा सिधा उडान भर्न पाउने गरी सहमति भएको उनले जानकारी गराए ।

यसअघि नेपाल र जापानबीच ६ फागुन २०४९ सालमा नेपाल–जापान हवाई उडानसम्बन्धी सम्झौता भएको थियो । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामहरि जोशी र तत्कालीन नेपालका लागि जापानी राजदूत चुइची इटोबीच हवाई उडानसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौताअनुसार नेपाललले ओसाकास्थित कोनसाई अन्तर्राष्ट्रिय विमानस्थलबाट २०५० साल असोजबाट नेपाल वायुसेवा निगमको ध्वजावाहकबाट सातामा दुईपटक उडान गर्दै आएको थियो।

यसैगरी, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित भएको भन्दै कालोसूचीबाट हटाएको छ । सन् २०१३ बाट नेपाली आकाश हवाई उडानका लागि सुरक्षित नभएको भन्दै कालोसूचीमा राखेको आइकाओले जोखिमको सूचीबाट गत साता हटाएको हो । नेपालको उडान सुरक्षामा प्रगति भएको भन्दै आइकाओले यस वर्षको प्रेसिडेन्ट अवार्डसमेत नेपाललाई प्रदान गरेको मन्त्री अधिकारीले सदनमा जानकारी गराए। राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23718