भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आगामी आमनिर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएका छन् । राहुलले केरलाको वायानाड र उत्तर प्रदेशको अमेठीबाट लोकसभाका लागि प्रतिस्पर्धा गर्ने कंग्रेस वरिष्ठ नेता एके एन्टोनीले जानकारी दिए।
नयाँ बहस
गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले भारतमा नयाँ बहस सुरु भएको छ । कंग्रेस नेताहरूले राहुलको निर्णयको स्वागत गरेका छन् भने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताले व्यंग्य गरेका छन् । राहुल एक स्थानबाट जित्नेमा ढुक्क नभएर दुई क्षेत्र छनोट गरेको भाजपाका नेताले बताएका छन् । जित सुनिश्चित नभएपछि राहुल अर्को क्षेत्रमा भागेको उनीहरूको आरोप छ ।
तर, कंग्रेसले भने पार्टीका नेताहरूको चाहनाअनुसार नै राहुल दुई क्षेत्रबाट प्रतिस्पर्धा गर्न लागेको जनाएको छ । ‘पार्टीका नेता तथा कार्यकर्ताले विगत लामो समयदेखि अध्यक्ष राहुल गान्धी दुई ठाँउबाट निर्वाचन लड्नुपर्ने चाहना व्यक्त गर्दै आएका थिए । कार्यकर्ताको चाहनाबमोजिम राहुलले निर्णय गरेका हुन्,’ एन्टोनीले भने ।
गान्धीलाई कर्नाटक, केरला र तमिलनाडुमध्ये जुनसुकै प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दबाब आएको उनले बताए । धेरैतिरबाट निर्वाचन लड्नका लागि आग्रह गरे पनि अन्त्यमा उनी वायानाडबाट उम्मेदवार बन्न मन्जुर भएको अन्टोनीले बताए । यसअघि मार्च ७ मा कंग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरूको पहिलो सूचीमा अध्यक्ष राहुल अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो। नयाँपत्रिका खबर छ।