खुम्चिँदै विप्लव, प्रकाण्ड पार्टीभित्रै विशेष निगरानीमा

काठमाडौं, २३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ।

दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्।

पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावशाली चार नेता प्रहरी हिरासतमा छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ।

२०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो। तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ।

त्यस बेलाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, झकबहादुर मल्ल ‘सुदीप’, राजेन्द्र कार्की ‘नवीन’, टेकबहादुर बलम्पाखी, जीवन खड्का ‘गगन’, महेश केसी ‘पारसमणि’ लगायत सत्तारूढ नेकपामा छिरिसकेका छन्। वयोवृद्ध नेता चित्रबहादुर आले ‘पवन’, देवीदत्त पाण्डे, हेमराज भट्टराई, मंगल विश्वकर्मा, सम्झना घर्तीलगायत निष्क्रिय छन्।

कोसी ब्युरो इन्चार्ज किरण राई, महाकाली ब्युरो इन्चार्ज सविता सिंह र नेता नारायण महर्जन पार्टी राजनीतिमा निष्क्रिय छन्। ४१ सदस्यीय केन्द्रीय समितिका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यद्वय वसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ र बन्धु चन्द समातिएका छन्।

फागुन २८ मा नेकपा र ‘विप्लव’ नेतृत्वका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगायो। त्यसपछिको विकसित राजनीतिक घटनाक्रमबारे पार्टी धारणा बनाउन नेकपाको बैठक बस्न सकेको थिएन। केन्द्रीय समिति र पोलिटब्युरो बैठक बस्न सम्भव नहुने देखेपछि पार्टीले स्थायी समिति बैठक बोलायो। पाँच सदस्यीय स्थायी समितिमा सुदर्शन पनि थिए।

काभ्रेमा रहेका उनी स्कोर्पियो झिकाएर काठमाडौं आउने र त्यसपछि बैठकस्थल छेउसम्म त्यसैमा जाने योजनामा थिए। रौतहट इन्चार्ज शंकर अधिकारलाई काठमाडौंबाट स्कोर्पियो झिकाउन लगाई उनी त्यसतर्फ जान खोजेका थिए। त्यही बेला सुदर्शन, केन्द्रीय सदस्य वसन्त, रौतहट इन्चार्ज अधिकारीलगायत ९ जना काभ्रेमा समातिए।

स्थायी समितिको १० चैतको बैठकमा महासचिव चन्दले ६ महिनासम्म सरकारको रणनीति चिर्दै नेतृत्वको रक्षा गर्नसके सरकार बाध्य भएर आफूहरूसँग वार्तामा आउने ‘ब्रिफिङ’ गरेको नेकपाका एक केन्द्रीय नेताले बताए। संसदीय राजनीतिक दलभित्रै पनि पार्टी प्रतिबन्धका विषयमा अन्तर्विरोध देखिनु आफ्नो पार्टीका लागि सकारात्मक सन्देश भएको विप्लवले बैठकमा बताएका थिए। उनले सरकार केन्द्रदेखि जिल्लासम्मकै संगठनको नेतृत्वलाई पक्राउ गर्ने रणनीतिका साथ आएकाले नेतृत्व रक्षा मुख्य चुनौती भएको धारणा राखेका थिए।





Comments

comments

Leave a Reply

27770