काठमाडौं, २३ चैत । नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ। जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको खबर राजधानी दैनिकले छापेको छ।
पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिइन्।
उनका अनुसार शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ । उनले भनिन्, ‘यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भए पनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहन्छ।’
मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान आंशिक बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ।
शनिबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यतः बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा मेघ गर्जने र चट्याङसहित हुरीबतासको सम्भावना भएकाले सुरक्षित हुन आह्वान गरिएको छ।
साथै हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा पनि हुरीबतास चल्ने सम्भावना छ।
यसैगरी, शनिबार राति पनि मुलुकका अधिकांश भूभागमा बदली रहनेछ । ‘देशको पूर्वी तथा मध्य भूभागका केही स्थानहरूमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना देखिन्छ ।’ यस्तै, आइतबार पनि हुरीबताससहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ।
यसैगरी, आइतबार राति मुलुकको पूर्वी क्षेत्रका अधिकांश भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेसँगै शनिबार साँझ पश्चिम र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाएको छ।