काठमाडौं, १ मंसिर। राजधानीमा आइतबार एक कार्यक्रममा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो जीवनका सडक दुर्घटना अनुभव बाँडे:
-परिवारसहित चितवन घुम्न जाँदा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको स्थान दासढुंगामा चालकले झन्डै गाडी खोलामा हालेनन्। मापसे गरेका रहेछन् कि क्या हो, मैले गाडीको स्टेरिङ समातेर सडकको भित्तातिर घुमाएँ। नत्र परिवारै सखाप हुने थियौं।
-थानकोटबाट तल झर्दै गर्दा चालकले एकैपटक पाँच नम्बरको गियरमा लैजाँदा गाडीको एअर भ्याकुम गयो। गाडी नियन्त्रणमा आउन नसकेपछि बल्लतल्ल खुला स्थानमा गएर अड्कियो, धन्न बाँचियो।
-पोखराबाट जलेश्वर जानुपर्ने थियो, चालक पनि राम्रै थिए। नजिकै विपरीत दिशामा बसबाट आमा र बच्चा झरेका रहेछन्। बच्चा अकस्मात् सडकमा आयो र हाम्रो गाडीको हावाको वेगले लड्यो। चितनवबाट काठमाडौं ल्याई उपचार गराएर पठाएँ, बच्चो किचेर मरेको भए बर्बाद हुन्थ्यो।
-कैलाली जाने क्रममा चालकको व्यवहारबाट म आजित भएँ। चालकले गाडी प्रतिघन्टा एक सय १० देखि एक सय २० किलोमिटरमा हाँकेपछि मलाई डर लाग्यो। ‘ए भाइ गाडी बिस्तारै हाँक’ भन्दा एकैपटक प्रतिघन्टा २०-३० किलोमिटरमा चलाउँथ्यो। ‘अलि गति बढाऊ न’ भन्दा पहिले जसरी नै हाँक्थ्यो।
-तीनकुनेबाट सिनामंगल आउने क्रममा स्कर्टिङको गाडी पछाडि नै रोकियो। किन रोकिएको रहेछ भन्दा गाडीले बच्चा किचेको रहेछ। त्यो बच्चाको मृत्यु भयो।
-थानकोटबाट नौबिसे नपुग्दै गाडी हल्लिन थाल्यो। मैले चालकलाई गाडी रोक भने। झन्डै दुई किलोमिटर पर गएपछि गाडी रोकियो। झरेर हेर्दा गाडीको नटबोल्ट सबै खसेर चक्का मात्रै बाँकी थियो। धन्नले बाँचिएछ। (अन्नपूर्ण पोष्ट दैनिक)