फेरि उठ्यो, भत्काईएका गौतम बुद्ध रंगशालाको बार

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार स्थानीयले नै उठाएका छन्।

१५ जेठमा केही स्थानीयले डोजर लगाएर भत्काएको बार शनिबार बिहान उठाइएको हो । स्थानीयका साथै भरतपुरका जनप्रतिनिधि, प्रहरी प्रशासन, राजनीतिक दल, उद्योगी व्यवसायी, विद्यार्थी, खेलाडीले बार उठाएका हुन्।

स्थानीयवासीले रंगशाला सबैको चाहना भएकाले एकाध मान्छेको पछि लागेर नअलमलिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई आग्रह गरे । स्थानीयवासीले रंगशाला निर्माण सूचारु गर्नुपर्ने बताउँदै र्‍यालीसमेत निकालेका थिए । रंगशाला निर्माणकर्ता सीताराम कट्टेल धुर्मुसले भर्खरै गति लिन खोजेको परियोजनामाथि डोजर चलाएर कसैको भलो नहुने बताए । उनले काम अघि बढाउन सुरक्षा प्रबन्ध र अन्य प्राविधिक सहयोग आवश्यक रहेको बताए।

हामी रंगशालाविरोधी होइनौँ: आरोपी
रंगशालाको बार भत्काएको अभियोगमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भरतपुर १६ का सुरेन्द्र विकले आफूहरू रंगशाला निर्माणको विरोधी नभएको बताएका छन् । उनले भने, ‘हामीले रंगशालाको विरोध गरेको होइन, केबल बाटोको भविष्य के हुने भन्ने चिन्ता थियो । तर, जुन दुःखद घटना भयो, त्यसप्रति हामी हिरासतमा रहेका सबै चिन्तित छौँ ।’ उनको भनाइमा अरू थुनुवाहरूले पनि समर्थन जनाएका थिए । शनिबार हिरासत कक्षमा पुगी गरिएको कुराकानीमा सबैको एउटै स्वर थियो, ‘रंगशाला वा धुर्मुस–सुन्तलीप्रति हाम्रो कुनै आक्रोश, गुनासो, बदला भाव छैन । तर, रंगशालाको पश्चिमतर्फको बाटोको निकासा र भविष्यबारे स्पष्ट गरिनुपर्छ। यो खबर नयाँपत्रिकामा दीपेन्द्र अधिकारीले लेखेका छन्।





Comments

comments

29662