मन्त्रीहरूको गतिविधिमाथि प्रधानमन्त्रीले बढाए निगरानी

फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने। प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए। पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कामप्रति आफ्नो संयन्त्रमार्फत निगरानी बढाउँदै आएको स्रोतले जानकारी दिएको छ। निगरानीका क्रममा हालै थप गरिएका मन्त्रीहरूले कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदा मन्त्रालयको काममा असर परेको पाइएको हो। राजधानी दैनिकमा खबर छ।





Comments

comments

33287