गोरखा सत्याग्रहको अनसन २० जुलाईसम्म स्थगन…

सन्तोष थलङ –

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा घोषित १ जुलाई २०२१ बाट आरम्भ हुने १३ दिने रिले अनसनसहित ज्ञानराज राई, धन बहादुर गुरुङ र श्रीमती पुष्पा घले राणाको आमरण अनसन २० जुलाई २०२१ सम्मकालागि स्थगन गरिएकोछ।

आन्दोलनको झलक

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले गत १५ जुन २०२१ का दिन बृहत र्‍यालीसहित बेलायत सरकारलाई स्मरण पत्र बुझाउँदै अन्तिम घोषणा सभा सम्पन्न गरी निर्धारित निर्णायक आन्दोलन (अनसन) कालागि मानसिक एवं भौतिकरुपले पूर्ण तयार भई १ जुलाईको प्रतिक्षामा रहेको प्रष्ट पारेको थियो।

यसै सिलसिलामा गत २६ जुन २०२१ का दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका पदाधिकारीहरुलाई भेटी वर्तमान नेपाल सरकारको स्थिति र राजनीतिक अवस्थालाई मध्यनजर गरी तत्काललाई १ जुलाई २०२१ बाट आरम्भ हुने अनसन स्थगन गर्न अनुरोध गर्दै नेपाल सरकारका तर्फबाट बेलायत सरकारसंग निरन्तर कूटनैतिक पहल गरी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभएको थियो।

सन्तोष थलङ

यसैगरी २७ जुन २०२१ कादिन नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिलाई एक पत्र लेख्दै उक्त अनसनसहितको आन्दोलन स्थगन गरी नेपाल सरकारलाई आगामी दिनमा बेलायत सरकारसंग कूटनैतिक पहल गर्न सहज वातावरण बनाईदिन अनुरोध गरेपश्चात र बेलायतमा कोभिड -१९ को निषेधाज्ञा १९ जुलाई २०२१ सम्म रहने जस्ता गम्भीर बिषयलाई मनन गर्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पुनः बेलायत सरकारलाई २० जुलाई २०२१ सम्मको अल्टिमेटम दिंदै २१ जुलाई २०२१ सम्मका लागि पूर्व घोषित १ जुलाईबाट आरम्भ हुने रिले अनसनसहित आमरण अनसनको कार्यक्रम स्थगन (Postpone) गरेकोछ।

अनसन स्थगनकालागि बेलायतका विद्वान, बुध्दिजिवी, राजनीतिज्ञहरुले समेत बिशेष अनुरोध गर्दै आएका थिए। १ जुलाई अगावै समस्या समाधानका ठोस पहलकालागि नेपाली दूतावास लण्डनले सक्रिय प्रयास गरेको थियो।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट तीनजना महान अभियन्ताहरुले घोषणा गरेको आमरण अनसन कुनै रहर वा कसैको उक्सावटमा गरिएको निर्णय नभएर वेलायती सरकारको हेपाह र ठग प्रवृत्तिले श्रृजना गरेको वाध्यात्मक परिस्थितिको उपज हो। केही बिवेकहीन झुण्डहरु जसले समग्र गोरखाहरुको हित बिपरित गोरखा आन्दोलनलाई ब्यक्तिगत आय आर्जनको पेशा बनाउदै आएकाछन् तिनले आफ्नो धन्दा अन्त्य हुने भयले यो निर्णायक आन्दोलनको बिरोध गर्दै वेलायती रक्षा मन्त्रालय (MoD)को पक्षपोषण गरिरहेकाछन्। त्यसर्थ, यस्ता बर्गिय बिकारहरुबाट सम्पूर्ण गोरखा समुदाय सचेत रहन अत्याश्यक देखिएकोछ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पूर्वनिर्धारित अनसन २० जुलाईसम्म स्थगन (Postpone) गरेको र उक्त मितिसम्म समस्या समाधानको कुनै ठोस पहल नभए २१ जुलाईबाट पुनः अनसन आरम्भ हुने बिषयमा १ जुलाईका दिन लण्डनमा मास र्‍यालीका साथ घोषणा गर्ने कार्यक्रम रहेकोछ।

जय गोरखा !!!
(१ जुलाई २०२१)





Comments

comments

Leave a Reply

43312