गोरखा समुदायलाई ‘गोरखा सत्याग्रह’ को बिशेष आह्वान !!!


सन्तोष थलङ –

अहिले विश्वलाई अवगत भईसकेको छ कि गोरखाहरुले आफ्नो हक अधिकार एवं नेपाल र नेपालीको स्वाभिमानका लागि गत २१ जुलाई २०२१ बाट लण्डनको “टेन डाउनिंग स्ट्रिट” मा १३ दिनको २४ घण्टे रिले अनसन दृढ अठोटका साथ आरम्भ गरेकाछन् भनेर।

कुनै पनि सज्जन ब्रिटिश गोरखा र गोरखा परिबारलाई थाहा नहुने कल्पना नै गर्न सकिदैन। तर बेलायतमा रहेका गोरखा समुदायको उपस्थिति र सहभागितालाई हेर्दा अझ पनि गोरखाहरुलाई परनिर्भरता र दासत्व नै प्रिय लाग्छ भन्ने आशंका उत्पन्न हुन्छ। त्यसमा थप केहि ब्रिटिश गोरखाका नाममा कलंक र बिकाउ ब्यक्तिहरुले गोरखा संघ संस्थाकै नामबाट यस निर्णायक आन्दोलनलाई असफल बनाउन सोझासाझा गोरखा समुदायलाई डर-त्रास, धम्की दिएर भड्काईरहेको प्रमाणहरु प्राप्त भइरहेका छन्। यस्ता भडुवाहरुले के कस्ता परिणति ब्यहोर्नु पर्छ त्यो त निकट भविष्यमै थाहा हुन्छ। तर तिनका गलत क्रियाकलापको शिकार अर्थात् हिस्सेदार स्वाभिमानी गोरखाहरु कोही पनि बन्न हुदैन।

सन्तोष थलङ

हालसम्म यस निर्णायक आन्दोलनप्रति गैरआवासीय नेपाली संघ यूके, जनजाति महासंघ युकेलगायत बिभिन्न नेपाली संघ संस्थाहरुले अनसन स्थलमै उपस्थित भएर नै ऐक्यवद्धता जनाएका छन्। त्यसैगरी ब्रिटिश भेट्रानका संघ संस्थाहरु र नागरिक समाजले संस्थागत एवं ब्यक्तिगत तवरबाट ऐक्यबद्धता जनाउँदै रिले अनसनको आरम्भबाटै बिभिन्न प्रकारको सहयोग पुर्याउँदै आएका छन्।

त्यसैगरी बेलायती प्रतिष्ठित संचार संस्थानहरु जस्तै, डेली टेलेग्राफ, गुरिल्ला टि.भी स्कटल्याण्ड, युटिलिट न्यूज नेटवर्क, बि.बि.सी-लण्डन, ए.पि न्यूज, बि.एफ. बि.एस. टिभी र स्काई न्यूजसहित अन्य दर्जनौं टिभी, रेडियो र अनलाईन संचार माध्यमहरुले यो निर्णायक आन्दोलन (आमरण अनसन) लाई गम्भीर रुपमा लिदै अभियन्ताहरुको अन्तर्वातासहित प्रमुखताका साथ प्रसारण गरिसकेका छन्।

सोही अनुरुप यस बिषयमा प्रो. डाक्टर यूवराज संग्रौलाले नेपालका बुद्दिजीवी, नागरिक समाज, र एसिया/ युरोपका प्रोफेसर एसोसिएसन, लयर एसोसिएसन र मानव अधिकारकर्मीहरुसंग सशक्त बहस चलाईरहेका छन्।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार १३ दिने रिले अनसन सम्पन्न भईसक्दा पनि गोरखाका न्यायिक माग सम्बोधन गरिने प्रक्रिया आरम्भ नभए चौधौं दिनबाट तिनजना साहासी अभियन्ताहरु क्रमशः ज्ञानराज राई, धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घलेले आफ्नो स्वनिर्णयबाट आमरण अनसन (Fast-Unto-death) आरम्भ गर्नेछन्।

गोरखाका माग पूरा गराउनका लागि वेलायती समकक्षी मित्रहरुले डे- वानदेखि अमूल्य साथ सहयोग दिदै रिले अनसनमासमेत भाग लिदै आएका छन्।

यसै सिलसिलामा आमरण अनसनसम्म नपुगी बेलायत सरकारद्वारा गोरखाका माग सम्बोधन गराउन ब्रिटिश भेट्रानका दर्जन बढी संस्थाहरुलागायत बेलायती नागरिक समाज साथै संचारकर्मीहरुले संयुक्त रुपमा स्वतस्फूर्त रुपमा आगामी ३१ जुलाई २०२१ शनिबार बिहान ११ बजे हजारौंको संख्यामा उपस्थित भई “टेन डाउनिंग स्ट्रिट” घेराउ गर्ने सशक्त कार्यक्रम तय गरेका छन्।

बेलायती सरकारलाई सशक्त दवाव दिन आयोजना गरिएको यस कार्यक्रममा गोरखाहरुको अत्याधिक उपस्थिति हुन अति आवश्यक छ। त्यसर्थ सम्पूर्ण बेलायतवासी गोरखा समुदायले आफ्नै हक अधिकारका लागि भईरहेको आन्दोलनको यो निर्णायक घडीलाई ध्यानमा राखेर अनिवार्य सहभागी बन्नु पर्दछ। ईतिहासले सबैको मूल्याङ्कन गर्ने नै छ। त्यसमाथि पनि मानवका हरेक सहि र गलत कर्मको हिसाब किताब त भगवानले राखेकै हुन्छन रे ..!!

जय गोरखा !!!
(२८ जुलाई २०२१)





Comments

comments

Leave a Reply

44002