हङकङ चीनमा फिर्ता भएको २५ वर्ष पूरा..

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई । बेलायतबाट चीनले आफ्नो अभिन्न भूभाग हङकङ फिर्ता लिएको आज २५ वर्ष पूरा भएको छ।

चीनले ‘एक देश, दुई व्यवस्था’को सिद्धान्तमा हङकङ सन् १९९७ जुलाई १ मा मुख्य भूमिमा पुनः गाभेको थियो।

बेलायतले हङकङ चीनलाई फिर्ता गरेसंगै १५६ वर्षको बेलायती उपनिवेश हङकङबाट समाप्त भएको थियो।

सन् १९८४ मा चीन बेलायतको संयुक्त घोषणानुसार बेजिङले हङकङको अत्यधिक स्वायत्ततालाई करिब ५० वर्षसम्म मान्ने प्रतिबद्धता गरेको थियो।

हङकङ चीनलाई फिर्ता गरेको एकरात अघि बेलायतका युवराजाधिराज चार्ल्स, बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र हङकङका २८ औँ र अन्तिम गभर्नर क्रिस प्याटेन बिदाइ कार्यक्रममा सरिक भएका थिए।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज बिहान १० बजे हङकङ मातृभूमिमा फिर्ता भएको २५औँ वार्षिकोत्सव र हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौँ कार्यकालको उद्घाटन समारोहमा सहभागी भएका थिए।

राष्ट्रपति सीसमक्ष हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको प्रमुख कार्यकारीमा निर्वाचित जोन ली र उनका टिमले सपथ लिएका छन्। नयाँ टिमले सपथ लिएपछि पाँच वर्षे कार्यकालको औपचारिक शुभारम्भ भएको छ।

उद्घाटन समारोहपछि राष्ट्रपति सीले हङकङमा रहेको पिपुल्स लिबरेसन आर्मी ग्यारिसनको मुख्यालयको भ्रमण गरी दिउँसो १ बजेतिर हाईस्पीड ट्रेनमा चीन प्रस्थान गरेका छन्।





Comments

comments

52352