यसकारण रामनाथ ढकाललाई बचाउन सकिएन…

काठमाडौ, चैत्र २२ – स्वाइन फ्लु संक्रमणबाट सिकिस्त एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद रामनाथ ढकालको आइतवार निधन भएको छ।


एमालेका प्रचार विभागका उपप्रमुख तथा केन्द्रीय सदस्य सूर्य थापाका अनुसार दिउँसो साढे १ बजे ग्रान्डी अस्पतालमा ढकालको निधन भएको हो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ढकाललाई हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको प्रेस नोटमा जनाएका छन्।

ढकाल अस्पताल भर्ना हुनुअघि नै लिम्फो प्रोलिफिरेटिभ डिजिज र लिम्फ नोडको क्षयरोगबाट पीडित थिए। अस्पताल आउँदा नै ढकालमा स्वाइनफ्लु र मृगौलामा पनि गम्भीर समस्या थियो, प्रेस नोटमा भनेको छ। ‘उहाँलाई तत्काल आइसियूमा भर्ना गरिएको थियो। अक्सिजन कम भएका कारण उहाँलाई भेण्टिलेटरमा राखियो, मृगौला कमजोर भएका कारण नियमित डायलाइसिसमा राखियो। यसबीचमा उहाँको स्वास्थ्य सुध्रने र बिग्रने क्रम जारी थियो।,’

प्रेस नोटमा भनेको छ, आइतबार मध्यान्हदेखि शरीरमा अक्सिजन स्याचुरेशन एकदम कम हुँदै गएको र १०० प्रतिशत अक्सिजन दिँदा पनि अवस्था नसुध्रेको अस्पतालले जनाएको छ। ‘त्यसपछि उहाँलाई ३० मिनेट कार्डियाक मसाज-सिपिआर गर्दा समेत उहाँलाई फर्काउन नसकिएपछि आज अपरान्ह १ बजे ४० मिनेटमा उहाँको निधन भएको हो।,’

ग्रान्डी अस्पतालमा उपचारत ढकाललाई थप उपचारार्थ नयाँदिल्ली लैजाने तयारी भए पनि मौसम खराबीका कारण समयमै एयर एम्बुलेन्स उड्न नसकेपछि नेपालमै उपचार गर्ने निर्णय गरिएको थियो।

एमाले मर्माहत र शोक विह्वल, सोमबार दाहसंस्कार
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधनले सिङ्गो पार्टी स्तब्ध, मर्माहत र शोक विह्वल भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

स्वाइन फ्लुबाट पीडित ढकालको आज दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो। उहाँ ५२ वर्षको हुनुहुन्थ्यो। एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा ढकाल विगत केही समययता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत रहनुभएको तथा चिकित्सकको अथक प्रयासका बीच उपचारका क्रममै भएको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाइएको छ।
‘दुःखको यस घडीमा एमाले केन्द्रीय कार्यालय ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

उहाँको पार्थिव शरीरलाई भोलि बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा अन्तिम श्रद्धाञ्जलिका निम्ति राखिने र ११ बजे पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिने भएको छ।

उहाँका दुई श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ।

यस्तो थियो ढकालको राजनीतिक यात्रा
विसं २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वडा नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका ढकाल एमालेका जुझारु युवा नेता हुुनुहुन्थ्यो। विसं २०३७ मा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रूपमा लोकतान्त्रिक आन्दोलनमा होमिनुभएका उहाँ सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभयो र विद्यार्थी आन्दोलनको चर्चित र अग्रणी नेताका रूपमा स्थापित हुन सफल हुनुभयो।

विसं २०४० सालमा नेकपा (माले) को पार्टी सदस्यका रूपमा कम्युनिस्ट आन्दोलनमा संलग्न उहाँले पार्टीको लुम्बिनी अञ्चल सचिव तथा अञ्चल इञ्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो। सातौँ महाधिवेशनपछि केन्द्रीय सदस्य रहनुभएका ढकाल नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुनुभएको थियो र हाल उहाँ पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो।

पञ्चायतकालमा पटक–पटक प्रहरी प्रशासन र अन्य पक्षबाट उहाँमाथि साङ्घातिक आक्रमण पनि गरिएको थियो। विसं २०५१ सालमा गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित उहाँले विकासप्रेमी, सक्रिय र प्रभावकारी सांसदका रूपमा आफ्नो विशिष्ट छाप छाड्न सफल हुनुभएको एमालेले जनाएको छ।

विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी उहाँले व्यवस्थापिका–संसद्मा राज्य व्यवस्था समितिको सभापतिका रूपमा निर्वाह गर्नुभएको भूमिका संसदीय इतिहासमा सदैव स्मरणीय रहने एमालेको ठहर छ। (रासस)





Comments

comments

Leave a Reply

5380