क्याथे प्यासिफिक एयरवेजले हङकङ – काठमाडौं उडान भर्ने

काठमाडौं, हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौं–हङकङ उडान भर्ने भएको छ।

 

एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ। एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण)ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन।”

क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङकङ–काठमाडौं–हङकङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङकङको ड्रयागन एयरलाइन्सअन्तर्गतकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्रयागन एयरलाइन्सले हङकङ–काठमाडौं गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङकङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ।

अहिले काठमाडौं–हङकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौंबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ ।

हाल क्याथेले हङकङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन्। रासस





Comments

comments

54991