काठमाडौं, चैत २८ – द्वन्द्व कालमा सुरक्षाकर्मीले हत्या गरी गाडेका दुई किशोरीको शव केही वर्षपछि उत्खनन् गरिएपनि दोषीलाई कानुनी दायरामा नल्याएकाले अझै अन्त्येष्टि हुन सकेको छैन।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागमा दुईवटा काठका बाकस छन्। बाकस बाहिर लेखिएको छ, मैना सुनुवार। अर्कोमा नाम छ-सरला सापकोटा। द्वन्द्व कालमा सुरक्षा फौजले पक्राउ पछि बेपत्ता बनाइएका थिए। बेपत्ता भएको वर्षौपछि मानव अधिकार आयोग र अधिकारवादी संस्थाको पहलमा सुरक्षाकर्मीले गाडेको ठाउँबाट उनीहरूको शव निकालेको थियो।
तत्कालिन शाही नेपाली सेनाले २०६० फागुन ५ गते सुनुवारलाई घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको थियो। उनकी आमा देवी सुनुवार र अधिकारवादी संस्थाले खोजतलास गर्दा सुनवारलाई सेनाले हत्या गरी गाडेको खुल्न आएको थियो।
२०६३ चैत ९ गते राट्रिय मानवअधिकार आयोगको अगुवाइमा महाराजगन्ज अस्पतालका फरेन्सिक एक्पर्ट डा.हरिहर वस्तीसहितको टोलीले शव उत्खनन् गरेको थियो। उत्खनन् पछि पोष्टमार्टम गर्दा सुनुवारलाई तीनवटा गोली पछाडिबाट लागेको पाइएको थियो। त्यसदिनपछि सुनुवारको शरीरका हड्डीहरू फरक-फरक कागजका खाममा बाकसभित्र राखिएको समाचार आजको कान्तिपुर दैनिकमा छ।
सुनुवारकी आमा देवीले आफ्नी छोरीको हत्या गर्नेलाई कानुनी कठघरामा नल्याएसम्म शव नबुझ्ने बताइन्।