Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विश्वयुद्धका योद्धा गुरूङ भन्छन्, ‘ती दिन सम्झँदा रुन मन लाग्छ’

पोखरा,वैशाख २ – मुहारमा पातला सेता दाह्री। आँखामा पावरवाला चस्मा। शिरमा सधैं ढाका टोपी। हृष्टपुष्ट ज्यान देख्दा र फूर्तिलो आवाज सुन्दा पोखरा १२ माटेपानीका लालबहादुर गुरुङले एक सय एक वसन्त पार गरिसके भनेर पत्याउन मुस्किल हुन्छ।


फाइल फोटो

नातिनातिना खेलाएर बस्नुपर्ने उमेरका यी वृद्धलाई बुढ्यौलीले अझै पछार्न सकेको छैन। उमेर ढल्कँदै गए पनि बेलायती गोर्खा सैनिकका अवकाश प्राप्त यी लाहुरेको जोस विश्वयुद्ध लड्दा जस्तै छ। गाउँमा कोही बिरामी परे, सामाजिक काम आइपरे उनी लौरो टेकेर पुगिहाल्छन्। जहाँ पुगे पनि उनी आफूले भोगेको अनुभव सुनाउँछन्।

ज्यान हत्केलामा राखेर गोली, बम, बारुदको गोला र धुवाँसँग दिनरात भिड्दै भारत, इरान, साइप्रस, ट्युनिसिया, क्युबा, इटालीलगायतका देशसम्म पुगे। समुद्र, जंगल, मरुभूमि सबै ठाउँमा वीरतापूर्वक लडे।

युद्धमैदानमा उभिएपछि बाँच्न भए पनि अरूलाई मार्नुपर्दाको पीडाले अझै पोलिरहेको उनी बताउँछन्। ‘आफ्नो ज्यानको माया सबैलाई लाग्दो रैछ। अर्कोलाई नमारे आफूलाई मार्ने भएकाले बाँच्नकै लागि मैले धेरैलाई मारें’, लड्दाका बाध्यता उनले सुनाए, ‘सँगसँगै हिँडेका साथीहरू आफ्नै सामुन्ने गोली लागेर ठहरै भएको देख्दा धेरैपटक धुरु धुरु रोएँ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

युद्धका क्रममा साइप्रसमा खाना खान बसेको बेला ठूलो बमबारी भएको घटना सम्झँदा उनी अझै मर्माहत बन्छन्। ‘दिनभर लडेर थाकेकाले पलेँटी मारेर गोलाकार बसेर खाना खान लागेका थियौं, अचानक भररर गोली बर्सियो, उठेर भाग्न नपाउँदै ढ्वाङ गर्दै ठूलो धुवाँको मुस्लोसँगै साथीहरूको ज्यान पनि आकाशमा उड्यो’, त्रासदीपूर्ण घटना सुनाउँदै उनले भने, ‘म अलिपर डाँडामा बसेकाले बाँचे, तर १८ जना नेपाली एकै चिहान बने। सँगै हिँडेका नेपाली दाजुभाइको टाउको एकातिर ज्यान अर्कोतिर उछुट्टिएर चोक्टा चोक्टा भयो। त्यो सम्झँदा अहिले पनि रुन मन लाग्छ।’

‘बाँच्नका लागि दुस्मनलाई मार’ युद्धको मैदानमा यही पढाइने गरेको उनले बताए। ‘कहाँ कति साथी मरे सम्झनै सक्दिनँ’, उनले भने, ‘बाँचौंला भन्ने आसै थिएन। लड्दै साइप्रस पुगेका बेला युद्ध बन्द भयो रे भनेको सुन्दा खुसीले भुइँमा खुट्टा थिएन। दिनभर भएभरको गोली परर पड्काएर खुसी मनाइरहयौं।’

१र२ गोर्खा बटालियनका योद्धा उनलाई बहादुरीपूर्वक लडेकाले बेलायत सरकारले पाँचवटा पदकसहित विभिन्न सम्मान दिएको छ। सन् १९४० भर्ती भएर सात वर्षसम्म युद्धमा होमिएका उनी साहस र इमानदारीको कदर भएकोमा खुसी छन्।





Comments

comments

Leave a Reply

5699