भर्जिनियामा राजु लामाको बेजोड प्रस्तुती, दर्शकलाई तताए र नचाए…

विजय थापा । डिसी महानगर क्षेत्र । भर्जिनियामा सम्पन्न सांगीतिक कार्यक्रममा मंगोलियन हर्टका राजु लामाले बेजोड प्रस्तुती दिए।

अक्टोबर २१ शुक्रबारको दिन अमेरिकाको डिसी महानर क्षेत्रको मनासस शहरमा आयोजना गरिएको कार्यक्रममा उनको प्रस्तुती हेर्न अन्य राज्यहरुबाट उनका प्रशंसकहरु पनि भर्जिनिया आएका थिए।

डिसी क्षेत्रमा स्थापित तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा गरिएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

भ्वाइस अफ नेपालका निर्णायक तथा सगरमाथा समेत आरोहण गरि फर्केका लामाले आफ्ना कालजयी चर्चित गीतहरु प्रस्तुत गरे। उनले आधा दर्जन भन्दा बढी उनका चर्चित गीतलगायत केही नयाँ गीतहरु प्रस्तुत गरेका थिए । उनको सुरुवात मेरो नेपाल -मेरो नेपाल गीतबाट आरम्भ गर्दै नेपाली झन्डा फरफराउदै मंचमा पुग्दा दर्शकहरुले उनलाई भब्य स्वागत गर्दै संगै गीत गाएका थिए।

उनी मंच प्रवेश गर्न साथ प्रतिक्षारत दर्शकले मन पर्ने गीतहरु गाउन फर्माइस गरेका थिए । उनले केही गीत गाउदै मंच तल झरेर दर्शकसंग हात मिलाउनुको साथै आफ्ना प्रशंसकसंग स्वयंको तस्बिर खिचेका थिए।

उनले सगरमाथा आरोहणको चर्चा गर्दै सबैको आशिर्वाद र आत्मविश्वासले फर्केर आएको बताए । उनले अगाडि भने सानो गल्तिले मानिसको ज्यान जाने हुन्छ । फर्केर तपाईहरुको समक्ष पुन आएको छु भन्दा दर्शकले ताली बजाएर सम्मान गरेका थिए।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेको बताए । दर्शकलाई एउटा बिरुवा रोप्न आग्रह गर्दै अभियानमा समर्थन गर्न चाहना राख्नेले गर्न सक्ने बताए । राजु लामाले भ्वाईस अफ नेपालमा नयाँ कलाकारहरुलाई हौसला प्रदान गर्न समेत अनुरोध गरेका थिए।

कार्यक्रम मनासस शहरस्थित सल्सबरी केन्द्रमा आयोजना भएको थियो । उनको प्रस्तुती अगाडी एन्जल्स ब्याण्ड( संगीत मण्डली)का राजु लामा लगायत टोली ,पिएमएसटी ,राजु लामा (एन्जल्स)रजल लामा ,प्रनिमा आचार्य लगायतले समेत कम्तिमा २-३ वटा गीतहरु प्रस्तुत गरेका थिए । मंगोलियन हर्टका राजु लामाले एन्जल्स ब्याण्डका राजु लामाको गीत २-३ हरफ गाएका थिए । उनले मुक्त कण्ठले एन्जल्स ब्याण्डका राजु लामाको प्रशंसासमेत गरे।

कार्यक्रममा तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनका महासचिव रोजी तामाङ्ग घिसिङले छोटोमा स्वागत मन्तब्य राखेकी थिइन् । चर्चित कार्यक्रम प्रस्तोता सरोज केसीले राजु लामाको सगरमाथा आरोहण ,गिनिज विश्व रेकर्ड्स र गायनको प्रारम्भ र उनले प्राप्त गरेका उपलब्धीहरुको परिचय दिएका थिए।

तस्बिरः समृद्ध आर श्रेष्ठ





Comments

comments

59919