प्रहरीको फेसबुक र ट्विटरमा गर्लफ्रेन्ड फकाइदिन आग्रह

काठमाडौं-नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालमार्फत आएको भूकम्प पीडितलाई तराईमा स्थानान्तरण गर्न नहुने धारणालाई लिएर सोमबार धेरैले प्रहरीको टाइमलाइन व्यस्त बनाए।

प्रहरीको ट्विटर ह्यान्डललाई मेन्सन गरेर धेरैले गिरीमाथि कारबाहीको माग गरे। राजनीतिक टिकाटिप्पणी प्रहरीको क्षेत्राधिकार थिएन। शक्तिशाली भूकम्पपछि सूचना आदानप्रदानका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग गरिरहेको प्रहरी समूह मौन नै बस्यो।

भूकम्पको कम्पनपछि काठमाडौं छाडेर आफ्नो थालथलो फर्कनेको संख्या बढेसँगै सार्वजनिक सवारीसाधनले चर्को भाडा असुल्न थाले। केही सचेत उपभोक्ताले प्रहरीको ह्यान्डलमा मेन्सन गर्दै दिएको सूचनाका आधारमा प्रहरीले यस्ता गतिविधिमा संलग्न सवारी धनी र चालकलाई पक्राउ गरी बढी लिएको भाडा फर्काउन सक्रिय भयो।

ट्विटरकै एक प्रयोगकर्ताले कपनमा निलो माइक्रोले बढी भाडा असुलेको जानकारी सामाजिक सञ्जालमार्फत नै दिए। प्रहरीले विस्तृत जानकारी मागेपछि ती प्रयोगकर्ताले माइक्रोको नम्बरप्लेट देखिने गरी तस्बिर खिचेर पठाएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लियो। चालकले भाडा बढी लिएको आरोप अस्वीकार गरेपछि प्रहरीले पुनः ती प्रयोगकर्तासँग सहयोग माग्यो, तर ती सम्पर्कविहीन भए।

सोमबार अमेरिकाको न्युयोर्कवासी एक नेपालीले प्रहरीको फेसबुकमा सन्देश पठाएर नेपालमा रहेकी आफ्नी प्रेमिकालाई फकाइदिन आग्रह गरे। पहिचान खुल्ने फेसबुक अकाउन्टबाट आएको आग्रहमा नेपालमा रहेकी प्रेमिकाले आफूलाई छाड्दा मानसिक तनाव बढेको र रातभर सुत्न नसकेको भन्दै उनलाई मनाइदिन आग्रह गरेका थिए। प्रहरीले सन्देस त पढ्यो तर, उनको समस्याको समाधान प्रहरीसँग थिएन।

वैशाख १२ को शक्तिशाली भूकम्पको कम्पनसँगै सामाजिक सञ्जालमा सक्रिय भएको प्रहरी अहिले भूकम्पबाट भएको मानवीय र भौतिक क्षति, सडकमार्गको अवस्था, कालोबजारी, हराएका व्यक्तिको खोजी जस्ता सूचना प्रवाहमा सामाजिक सञ्जालको सकारात्मक उपयोग गरिरहेको समाचार नागरिक दैनिकमा छ।

भूकम्पले निम्त्याएको विपदसँगै राहत, उद्धार र खोजीमा खटिएर प्रशंसा पाएको प्रहरीले सामाजिक सञ्जालको प्रभावकारी उपयोगबाट उत्तिकै स्याबासी पाइरहेको छ । ३२ लाख प्रभाव, १४ हजार फलोअर्स, १० हजार नौ सय रिट्विट, ७ हजार २ सय फेबरेट, १० हजार ६ सय रिप्लाई । २८ दिनमा ट्विटरमा नेपाल प्रहरीको नेपालपुलिसएचक्युको यो तथ्यांकले प्रहरीको सामाजिक सञ्जालमा सक्रियता देखाउँछ।

सानो समूह लिएर विपदमा सूचना प्रवाहलाई प्रभावकारी बनाउन सामाजिक सञ्जालमा छिरेको प्रहरीका दुःख पनि कम छैनन्। प्रेमिका रिसाउँदा रातभर निद्रा नलागेको भन्दै उनलाई फकाइदिन अनुरोध आउने मात्रै हैन, हुँदै नभएको घटना मेन्सन गरेर दुःख दिनेहरुको जमात बढिरहेको अनुभव बाँडे सामाजिक सञ्जालको समन्वय गरिरहेका प्रहरी अधिकारीले।

गम्भीर प्रकृतिका सूचनासँगै आउने नक्कली सूचना, अनावश्यक विवादमा ह्यान्डल मेन्सन गर्दा टाइमलाइनमा फिजिने अनावश्यक सामग्री अनि कार्यक्षेत्र बाहिरका विषयवस्तुमा ट्याग र मेन्सन गरेर जवाफ माग्दै हैरानी दिनेहरु बढिरहेको देखियो।

‘सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ता निकै सक्रिय र प्रभावकारी देखिए,’ नेपाल प्रहरीको सामाजिक सञ्जालको संयोजन गरिरहेका एसएसपी राजीव सुब्बाले भने, ‘अनावश्यक विषयमा मेन्सन गर्ने, नभएको सूचना दिने र विवादमा जबर्जस्ती तान्नेहरु पनि छन् ।’

प्रहरीका लागि अनुपयोगी छलफलमा ह्यान्डल मेन्सन गरेर टाइमलाइनमा अवरोध बढाउने क्रम बढेपछि प्रहरीले बारम्बार व्यक्तिगत छलफलमा मेन्सन नगर्न आग्रह गरेपछि त्यसको क्रम घटेको छ। तर रोकिएको छैन । प्रहरीको सो आग्रहपछि डाइरेक्ट म्यासेज(डिएम) आउने संख्या भने बढेको छ।





Comments

comments

Leave a Reply

6596