इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते

कुएन्का, शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन्।

इक्वेडर भूकम्पमा भत्केका संरचनाहरू ।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ।

इक्वेडरको मचला र कुएन्का सहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका र केही सवारी साधन कुच्चिएका छन् । कम्पनबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस सहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो।

रासस / एएफपी

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

69804