‘मेरो नाबालक छोराको के दोष थियो र गोली हानियो ?’ (भिडियोसहित)

छोरालाई शहीद घोषणा गर्न माग
टीकापुर, कैलाली: ‘मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ?’ टीकापुरमा गत सोमबार थरुहटले हानेको गोली लागेर मारिएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यही प्रश्न गरिरहन्छिन्।


फोटो: थरुहटले गोली हानेर हत्या गरेका बालक टेकेन्द्र साउदको शवः हेर्नुहोस् भिडियो

‘समाज र संसारका बारेमा अनभिज्ञ रहेको मेरो छोराको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ’, गहभरि आँसु निकाल्दै उनले भनिन्, ‘छोरालाई सहिद घोषणा गर्नुपर्छ।’

टीकापुरमा डेढ वर्षीय बालक र आठ प्रहरीको निर्ममतापूर्वक हत्या भएको घटनापछि यतिबेला स्थानीयवासी आक्रोशित पनि छन् सँगै चिन्तित पनि देखिएका छन्।

दिउँसो भएको घटनामा प्रदर्शनकारीले चलाएको गोली लागेर डेढ वर्षीय बालक टेकबहादुरको मृत्यु भएको प्रत्यक्षदर्शी मनसरा भण्डारीले बताइन् । ‘विगतको सङ्कटकालमा समेत यस्तो घटना देखेनौँ’, उनले भनिन्, ‘त्यतिबेला पुलिस लडाईंमा मर्दा पनि यस्तो क्रुर भएको सुनेका देखेका थिएनौँ ।’

प्रहरीसँग लडाईं भएको एक घन्टापछि आँगनमा अन्य बच्चाहरुसँगै खेल्दै गरेका बालकको टाउकोमा गोली लागेको फूपू दुर्गा कठायतले जानकारी दिइन्। ‘नारा लगाउँदै आएको भीडले चलाएको गोली सिधै टाउकोको पछाडिको भागमा लागेर बालक भुइँमै ढल्यो’, कठायतले भनिन्।

घरदेखि झन्डै सातसय मिटर दक्षिणतर्फ रहेको पशुहाट बजार चोकमा सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई घेरा हालेर आक्रमण गरिसकेपछि ज्यान जोगाउन लखतरान् हुँदै बालकको घर नजिकको खेतबारीमा बाँचेका प्रहरी पुगेका थिए।

त्यसैबेला घरको अर्को दिशाबाट थरुहट प्रदर्शनकारीको भीड पनि आइपुगेको थियो । सहकर्मीकै घर भनेर आएका प्रहरीले पानी मागेपछि घरको झ्याल खोलेर दुई तीन पानीका बोतल उनीहरु भएतिरको खेतमा फ्याँकिदिएको बालककी आमा साउदले बताइन्।

दुश्मनले पनि पानी मागेपछि दिनुपर्छ भन्ने समाजमा प्रहरीलाई पानी दिएकै निहुँमा प्रदर्शनकारीहरुले आफ्नो घरतर्फ गोली चलाएको आशङ्का उनको छ।

मृतक बालकका बुबा घरदेखि करिब दुई किलोमिटर टाढा टीकापुरमै रहेका सशस्त्र प्रहरी बलको उग्रतारा गणका प्रहरी हवल्दार छन् । घटना सुनेपछि घर आएका बालकका बुबा नेत्र साउद छोरा मारिएपछि अहिले कार्यालय गएका छैनन्।

साउदको परिवार घटनापछि विस्थापित भएर अहिले टीकापुर बजारमा रहेको एक होटेलमा भाडामा बसिरहेको छ । छोराको हत्यापछि मन थाम्न नसकेर यशोदा साउद बेहोस भएकी थिइन्।

घटनाको चार दिनपछि मात्रै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका सरकारी सुरक्षा अधिकारीले भेटेपछि आफ्नो आत्मामा थोरै शान्ति मिलेको अनुभव उनले सुनाइन्। अर्यालसहितका सुरक्षा अधिकारीहरुले बिहीबार पीडित साउदको परिवारलाई भेटेर समवेदना दिएका थिए।

यसअघि प्रदर्शनकारीहरुले गरेको आक्रमणबाट स्थानीय पशु हाटबजार चोकमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीहरुको मृत्यु भइसकेको थियो। निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन सम्झाइबुझाई गरिरहेकै अवस्थामा भएको आक्रमणबाट न्यौपानेसहितका प्रहरीको ज्यान गएको थियो।

थरुहटका प्रदर्शनकारीले त्यो दिन टीकापुरको पशुहाट बजार क्षेत्र रणभूमि नै बनाएको स्थानीयवासीले बताएका छन्।

‘एकसाथ आक्रमण भएपछि न्यौपाने आत्मरक्षाका लागि स्थानीय सीता बर्माको घरको कोठामा लुक्ने प्रयास गर्दै हुनुहुन्थ्यो’, स्थानीयले डराई डराई नाम नभन्ने सर्तमा भने, ‘ढोकाको चुकुल लगाउन नपाउँदै भित्रबाट तानेर भाला, लाठी इँटाले उनलाई मारियो।

उनीहरुले दुईजना प्रहरी निरीक्षकलाई घर नजिकैको धान रोपेको खेतमा लगेर आक्रमण गरिरहँदा अन्य प्रहरीलाई घर बाहिरको चौरमा कुटपिटपछि जिउँदै आगो लगाएर हत्या भएको घटना विवरण पनि सुनाए।

आ–आफ्नो प्रदेश माग्ने नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनामा परी टीकापुरमा आठ प्रहरीसहित एक नाबालक मारिएको घटनाको त्रास यहाँ अझै सेलाउन सकेको छैन।

घटनापछि सबै उमेरका सर्वसाधारणमा सन्त्रास फैलिएको छ। विद्यालय पढ्ने उमेरका बालबालिकामा यो घटनाले नराम्रो असर पारेको देखिन्छ।

घटनापछि उत्पन्न वातावरणले बालबालिकामा मनोवैज्ञानिक त्रास फैलिएकाले अवस्था सहजीकरण गर्नु आवश्यक भइसकेको स्थानीय शिक्षक हेमराज तिमिल्सेना बताउँछन्।

लगातार १९ दिनदेखिको बन्द र त्यसपछि भएको यो घटनाबाट स्थानीय जनजीवन निकै कष्टकर बनेको छ।

घटनापछि कुनै तोडफोड, हिंसा हुन नपाई शान्ति सुरक्षाको अवस्थामा सुधार आएपनि जनजीवन भने सामान्य अवस्थामा फर्किन सकेको छैन। लगातारको बन्दसँगै भएको घटनाकै दिनदेखि जारी गरिएको निषेधाज्ञा (कर्फ्यू) यथावत् छ।

सर्वसाधारण घटनापछि त्रासमा बाँचिरहेका मात्र नभई बजार क्षेत्रमा यतिबेला साग, तरकारी, दाल, चामल पिठो, दूधलगायतको दैनिक उपभोग्य सामग्रीको चरम अभाव देखिएको छ।

घटनाको दोस्रो दिन नै सरकारले शान्ति सुरक्षाको व्यवस्थापन गर्न नसकेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सुदूरपश्चिम क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकहरुको हेरफेर गरेको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारीमा मोहनबहादुर चापागाईंलाई पठाइएको छ।

एकै देशका नागरिकबीचको यस्तो द्वन्द्वको अन्त्यका लागि निर्वाचनमार्फत चुनिएर गएका सभासद्, राजनीतिक दलका नेताहरु, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार सबैको संयुक्त प्रयासको आवश्यकता टड्कारो रुपमा देखिएको स्थानीयवासीको भनाइ छ। (रासस)

हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

8264