२ करोड अडियो काण्ड: गुरुङलाई कारबाही, श्रेष्ठलाई सफाइ

पाँचथर, गत असारमा सामाजिक सञ्जालमार्फत एउटा सनसनीपूर्ण श्रव्य (अडियो) सामग्री बाहिरिएको थियो। जुन अडियोमा नेपाली कांग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठ र फिदिम नगर सभापति प्रकाश गुरुङबिच वार्तालाप भएको छ।

अडियोमा भाञ्जा भनिएका श्रेष्ठ र मामा भनिएका गुरुङबिच भएको फोन वार्तामा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाको प्रमुख पदको टिकट लिन २ करोड रुपैयाँको लेनदेन भएको संवाद छ।

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई प्रमुखको टिकट लिन २ करोड रुपैयाँ बुझाएको सो फोनवार्तामा भनिएको छ।

यही अडियो प्रकरणका दुईमध्ये एक गुरुङलाई नेपाली कांग्रेस अनुशासन समितिले कारबाही गरेको छ । फिदिम नगरपालिका–४ का पूर्वजननिर्वाचित वडाअध्यक्ष र हालः पार्टीको फिदिम नगर सभापति रहेका गुरुङलाई अनुशासन समितिले कारबाही गरेको हो।

गुरुङलाई नेपाली कांग्रेसको विधान (संशोधनसहित) धारा ३४ को उपधारा १ (क), (ख), (घ), (च) र उपधारा ८ को (ङ) बमोजिम तीन वर्षसम्म सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ।

अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा अडियो प्रकरण’bout दुवै जनालाई सोधिएको स्पष्टीकरणमा गुरुङको स्पष्टीकरण चित्त बुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको देखिएकाले कारबाही गरिएको उल्लेख छ । श्रेष्ठले भने स्पष्टीकरणमा आत्माआलोचनासहित माफी मागेकाले नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३० (क) बमोजिम सचेत गराउने निर्णय भएको पत्रमा उल्लेख छ।

अनुशासन समितिले नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरलाई सो बेहोराको पत्र पठाउँदै गुरुङलाई कारबाही र श्रेष्ठलाई सफाइ दिएको हो । गुरुङले भने आफू बीपीको सिद्धान्तबाट प्रेरित भएर कांग्रेस बनेको भन्दै कारबाहीले आफूलाई केही फरक नपर्ने र आफू विचलित नुहुने प्रतिक्रिया दिएका छन् । आजको राजधानी दैनिकमा खबर छ।





Comments

comments

85951