डिसीमा सम्पन्न विश्व साँस्कृतिक उत्सवमा नेपालका १६५ जनाको सामूहिक प्रस्तुति, बिदेशीदर्शकद्वारा प्रशंसा

विजय थापा –
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा विश्व साँस्कृतिक उत्सव २०२३ मा नेपाली समूहले बिभिन्न जात जातिका नृत्यहरु प्रस्तुत गरेका छन्।

अमेरिकाको राजधानीमा सेप्टेम्बर २९ देखि अक्टुबर १ आइतबार सम्म आयोजना भएको विश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गरेका थिए।

सेप्टेम्बर २९ देखि सुरु भएता पनि नेपालको पालो आइतबार अक्टोबर १ का दिन बिहान १० बजे १६५ जनाले विभिन्न जात जातिकाहरुको भेषभुषामा सामूहिक नृत्य ८ मिनेट भित्र आफ्नो बेजोड प्रस्तुति दिएका थिए।

बिश्व भरका विभिन्न संस्कृतिहरु बोकेका राष्ट्रहरुलाई एकै थलोमा जम्मा गरि एकै सुत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन्।

नेपालका उद्योगपति तथा सांसद बिनोद चौधरीले नेपालको तर्फबाट नृत्य प्रस्तुतिपछि मन्तब्य दिएका थिए।

नेपालको नृत्य सामूहिक रुप मै नेपालको पहिचानसहित पोशाकमा उत्रिएका बिभिन्न जातजातिका समूहले नृत्य प्रस्तुत गरेका थिए। नेपालको नृत्य प्रस्तुतिपछि बिदेशी दर्शकहरुले नेपालको जात जातिकाका नृत्य र पोशाकको मुक्त कण्ठले प्रशंसा गरेका छन्।

नेपाली नृत्य समूहमा रहेका १६५ जनाले करिव ८ मिनेट भित्र कुमारी नृत्य ,लाखे ,अष्ट मातृका ,नेवारी ,गुरुङ ,शेर्पा ,थारु ,तामाङ ,झाक्री लगायत नृत्यहरु प्रस्तुत गरिएका थिए । सबै नृत्यका लागि ५ महिनासम्म अहोरात्र खटिएर १६५ जनालाई नृत्य तालिम दिने नृत्य निर्देशक यज्ञमान शाक्यले ८ मिनेट भित्रमा नेपालका सबै जातजातिका नृत्यलाई अद्वितीय रुपमा प्रस्तुति गराउदै बिश्व सामु चिनाउन सफल भएका छन्।

यसको सबै चाजो र तारतम्य मिलाउने जिम्मेवार नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनइसिसि)मेरिल्याण्डका अध्यक्ष सरोज देवी प्रजापतिले लिएकी थिइन्।

उनको नेतृत्वमा ५ महिनासम्म अथक मेहनत र समन्वय गरि ऐतिहासिक कार्यक्रम गर्न सफल भएकी छिन्। प्रजापतिले आफ्नो सामाजिक संजालमा मेरो जीवनको असाधारण दिन भन्दै अत्यन्तै खुसी व्यक्त गरेकी छिन्। यसमा जोडिने र बिशेष सहयोग गर्नेप्रति धन्यबाद दिएकी छिन्।

यो बृहत कार्यक्रममा नेपालको सहभागिता अपरिहार्यको महसुस गर्दै नेपाललाई सहभागिता गराउन पहल गर्ने नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका थिए। दुवै जना आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्यको साथै दया फाउन्डेसनमा पनि आबद्ध रहेका छन्।

३ दिन चलेको उक्त बिश्व संस्कृतिक उत्सवमा १८० राष्ट्रहरुबाट १७,००० कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत गरेका थिए। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले विगत पाँच महिनादेखि नृत्य टोलीलाई प्रशिक्षण दिएका थिए।

निभा माथेमा प्रधानले दिएको जानकारी अनुसार डिसी क्षेत्रमा हुने ’विश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो। सन् २००६ मा बैंगलोरमा, दोश्रो संस्करण बर्लिनमा सन २०११ , तेश्रो संस्करण २०१६ मा दिल्लीमा आयोजना गरिएको थियो।

तस्बिरहरु: राजीब श्रेष्ठ तथा समृद्ध आर श्रेष्ठ (फोटो बैंक स्टुडियो)





Comments

comments

85954