रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन २१ असोज। भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै गैरआवसीय नेपाली महासंघ (एनआरएन) बेलायतले लण्डनस्थित भारतीय हाई कमिशन कार्यालयमा ध्यानाकर्शणपत्र बुझाएको छ।
नेपाली समय अनुसार बुधबार विहान एनआरएन बेलायतका अध्यक्ष मुछेन्द्र गुरुङको नेतृत्वमा गएको टोलीले बेलायतका लागि भारतीय राजदूत रञ्जन मथाईलाई ध्यानाकर्शणपत्र बुझाएका हुन्। अल्डवीस्थित भारतीय हाई कमिशनको कार्यालय पुगेर एनआरएन बेलायतका प्रतिनिधिहरुले अघोषित नाकाबन्दी तत्काल खुलाउन आग्रहसमेत गरेका थिए।
ज्ञापन पत्रमा नाकावन्दीपछि नेपालमा जनजीवन अस्तव्यस्त भएको जनाउदै पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक बस्तुको आपूर्ति सुचारु गर्न भारतसँग माग गरिएको छ। नाकाबन्दीले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई नै असर पर्ने उल्लेख गर्दै पत्रमा ‘कुनै राजनीतिक समस्या भए दुई सार्वभौम मुलकले कुटनीतिक माध्यमबाट’ समाधान गर्न सुझाब दिईएको छ।
भारतको नाकाबन्दीको कारण नेपालका सर्बसाधारणहरुको जीवन कष्टकर बनेको, औषधी, इन्धनलगायत अत्यावश्यक समानहरुको अभावले समस्या उत्पन्न भएको उल्लेख गर्दै पत्रमा दुबै देशका जनताको जीवन यापन अप्ठ्यारोमा परेको बताईएको छ। अधिकांश नेपालीले ठूलो चाडको रुपमा मनाउने दशै र तिहार नजिकिँदै गरेको बेला जारी बन्दले नेपालको आर्थिक गतिविधिसमेत प्रभावित भएको पत्रमा उल्लेख गरिएको छ।
‘हामीलाई लाग्छ, नाकाबन्दी छिमेकीमाथि कुटनीतिक दबाब सिर्जना गर्ने उचति विधि होइन,’ पत्रमा भनिएको छ, ‘कुनै पनि राजनीतिक असहमति वा विरोध राजनीतिक सम्झौता तथा संविधान संशोधनबाट गर्न सकिन्छ।’
आफूलाई प्रजातान्त्रिक मुलुक भन्न रुचाउने भारतले नाकाबन्दी खोलेर आफ्नो भनाइ सार्थक तुल्याउने विश्वास समेत ज्ञापनमा उल्लेख गरेको छ।
लामो समयदेखि नेपाल भारत कुटनीतिक सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै पत्रमा अन्तर्राष्ट्रिय कानुन र सन्धी पालना गरेर भारतले अघोषित नाकावन्दी फिर्ता लिने अपेक्षा गरिएको छ। पत्रमा भारतलाई प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्न पनि आग्रह गरिएको छ।