कस्केली तमुहरुले धुमधामका साथ ट्होटें मनाए

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, २७ साउन। तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटें तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा सामुहिक रुपमा कस्केली तमुहरूले धुमधामका साथ मनाए।

तमु धिं नेपालका आयोजित ट्होटें समारोहमा तमु धिं नेपालले कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीलाई तमु धिं नेपालको तर्फबाट महासचिव रुद्रकुमारी(मैना) गुरुङले पोखरा रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नाममा अस्पतालका स्थापनाकर्ता स्वर्गीय मेजर बीरसिंह गुरुङको नाम जोड्न मागपत्र प्रदान गर्नुभयो।

मागपत्रका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायत यसक्षेत्रको स्वास्थ्य, शैक्षिक एवं आधुनिक विकासका सुत्रधार स्वर्गीय मेजर वीरसिंह गुरुङको योगदानको कदर, सम्मान, स्मरण र प्रथम, दोश्रो विश्वयुद्धमा वेपत्ता भएका, मारिएका गोर्खाहरुको आत्मशान्तिका लागि पनि उहाँको नाम अघि वा पछि जोडिनुपर्ने तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर गुरुङद्धारा जानकारी गराउनुभएको थियो।

मागपत्रका केवल गुरुङ जातिय घेराबाट नभई योगदान गर्ने महानुभावको कदरको निम्ती तमु धिं नेपालले उक्त माग गरेको र सबैको साथ एवं सहयोगको समेत आग्रह गरिएको छ। यसरी नै मागपत्रका सबैको अधिकार सुनिश्चित हुने संघीय लोकतान्त्रिक अधिकार सुनिश्चित हुने संविधान निर्माणको समेत माग गरिएको छ।

मागपत्र ग्रहण गर्नुहुदै प्रमुख अतिथि स्वास्थ्य मन्त्री अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई नेपाल सरकारले स्वास्थ्य प्रतिष्ठानको रुपमा विकास गर्ने तयारी गरिरहेकोले अस्पताल निर्माणकर्ता मेजर बीरसिंह गुरुङको उचित सम्मान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले मेजर बीरसिंह गुरुङ केवल गुरुङ मात्रै नभएर अस्पतालको स्थापना, पोखराको विकासका विशेष योगदान पुर्याउनुभएकोले जाति भन्दा माथि उठेर मुल्यांकन गर्नुपर्ने बताउनुहुदै योगदान गर्नुहुने उहाँ लगायत अन्य सबै परिवारलाई प्रासंगिक सम्मान गर्ने बताउनुभयो।

मन्त्री खगराज अधिकारीले सबैको पहिचान सम्मान हुने नेपालीको साझा अग्रगामी संविधान तोकिएकै समयमा बन्ने बताउनुभएको छ।

नेपालको संविधान संघीय लोकतान्त्रिक बन्ने दावी गर्नुहुदै जनताको गणतान्त्रिक युगमा राजतन्त्रको कुनै रंग संविधानमा उल्लेख नहुने बताउनुभयो। उहाँले तमु जातिको साँस्कृतिक पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै प्रकृति र सँस्कृतिको सधै सम्मान गर्ने र राज्यैले सबै सँस्कृतिलाई समान रुपमा हेर्ने बताउनुभयो।

फाइल फोटोहरूः उमेश पुन / एचकेनेपाल डट कम

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले शुभकामना व्यक्त गर्नुहुदै हरेक जात जाति, समुदायले मनाउने चाडपर्वहरु राष्ट्रको सँस्कृति मात्रै नभएर सम्पत्ति हो भन्नुहुदै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो।

मेजर बीरसिंह स्मृति प्रतिष्ठानका प्रथम उपाध्यक्ष देवीराज तमुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नाममा स्वर्गीय मेजर बीरसिंह गुरुङको नाम उल्लेख गरिनुपर्ने तमु धिं नेपालको मागमा ऐक्यवद्धता जनाउनुहुदै योगदान गर्नेहरुको उचित सम्मान गर्नुपर्छ भन्नुभयो। उहाँले मौलिक साँस्कृतिक पर्वहरुमा राज्यले सार्वजनिक विदा दिनुपर्ने, भाषा, कला सँस्कृतिको संरक्षणका लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिनुभयो।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले मौलिक भाषा, कला, सँस्कृति, परम्पराको संरक्षण सम्वद्र्धन गर्न राज्यको पहल हुनुपर्ने बताउनुहुदै मौलिकताको संरक्षणको लागि आदिवासी जनजातिको एकतामा जोड दिनुभयो। हाम्रा सँस्कृतिहरु जातिय सद्भावको बगैचा हो, राष्ट्रिय एकताको सुत्रधार, पर्यटन प्रवद्र्धनको आधार भएकाले ट्होटे, ल्होछार, गाईजात्रा लगायतका पर्वहरुमा सार्वजनिक विदा जरुरी रहेको बताउनुभयो । अब हाम्रो विकासका लागि शिक्षामा जोड दिनुपर्छ भन्नुहुदै डा.हर्क, डा.चन्द्रप्रसाद गुरुङहरु शिक्षाकै कारण राज्यले मान्न बाध्य भएको बताउनुहुदै मेजर बीरसिंह गुरुङको योगदानको सम्मानका लागि तमु धिं नेपालको मागमा उहाँले ऐक्यवद्धता जनाउनुभयो।

यसरी नै संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङले शुभकामना व्यक्त गर्नुहुदै हरेक भाषा कला सँस्कृति तथा पहिचानको सम्बोधन हुनुपर्दछ। चुच्चो परेको ढुंगा भएको ठाँउलाई चुच्चे ढुंगा भनेर सहजै नामाकरण गछौं भने यस पोखरा क्षेत्रम स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा योगदान पुर्याउनुहुने, एकै दिन सोल्र्जसबोर्ड अस्पताल(हालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र सोल्जर्सबोर्ड स्कुल(हालको अमरसिंह नमुना उच्चमावि)को स्थापना गर्ने मेजर बीरसिंह गुरुङको नाम पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नामाकरण तत्काल गर्नुपर्ने भन्नुहुदै तमु धिंको मागमा ऐक्यवद्धता व्यक्त गर्नुभयो। ऐतिहासिक व्यक्तित्व मेजर बीरसिंह गुरुङको उचित सम्मान नभएर आफ्नो पार्टी आन्दोलित हुने वाचा गर्नुभयो।

तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष बखानसिंह गुरुङले ट्होटे. ल्होछार जस्ता पर्वहरुलाई राष्ट्रिय रुपबाटै सम्मान हुनुपर्दछ भन्नुहुदै पश्चिमाञ्चल अस्पताल परिसरमा मेजर बीरसिंह गुरुङको शालिक निर्माण गर्दा समेत विभिन्न षडयन्त्र भएकाले तमु धिंले प्रस्तुत गरेको माग पुरा गराउन आन्दोलित बन्नुपर्ने अवस्था आएपनि आफुहरुको साथ रहने बताउनुभयो। उहाँले तमुहरु ट्होटेंमा जस्तै अधिकारमुखी आन्दोलनमा पनि उत्रनुपर्छ भन्नुहुदै नयाँ बन्ने संविधानले साझा राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

गुरुङ प्राज्ञिक तथा व्यवसायक मञ्च नेपालका अध्यक्ष सुन्दर गुरुङले तमुहरुको एक सुत्रीय माग पहिचान सहितको तमुवान हुनुपर्दछ। पहिचान स्विकार नगर्दासम्म हाम्रा भाषा, कला, सँस्कृति, परम्परा, आत्मसम्मानले विकाश हुने अवसर पाइदैन भन्नुहुदै तमुहरुले हामी किन अरुभन्दा पछि पर्यौं बुझ्नु जरुरी छ भन्नुभयो । उहाँले पहिचानको स्किारोक्तीसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेजर बीरसिंहको योगदानको कदर हुन्छ होइन भने हामी माथि षडयन्त्र भइरहने भएकाले तमु धिंले राखेको मागलाई स्थापित गराउन सबैको साथको आव्हान गर्नुभयो।

पोखरा उपत्यका नगर विकाश समितिका सदस्य तथा नेपाली काँग्रेसका तर्फबाट राजबहादुर गुरुङले ट्होटें अब जिल्ला प्रसासन खेल्नुपर्ने अवस्था आएको बताउनुहुदै तमु धिंले राखेको माग जायज छ, राजनीति भन्दा माथि उठेर एक बन्न जरुरी भएको बताउनुभयो । उहाँले पोखरामा तमु संग्रहालयको आवाश्यकता छ त्यसमा तमु धिं नेपालले अगुवाई गरेमा आफ्नो तर्फबाट पहल हुने वाचा गर्नुभयो।

नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष सुवेदार हरीमान तामाङले तामाङ र गुरुङ निकट सम्बन्ध रहेको बताउनुहुदै तमु धिं नेपालको मागमा साथ रहने बताउनुभयो । उहााले पहिचान सहितको संघीय संविधान र तमुवान स्थापनाका लागि आन्दोलित बन्न आग्रह गर्नुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी गुरुङको अध्यक्षता र सचिव गिरीप्रसाद गुरुङको सञ्चालनमा भएको कार्यक्रममा ट्होटे संयोजक रुद्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पिउने पानी सौजन्यकर्ताहरु बगर तमु समाजका थमबहादुर गुरुङ र लामाचौरकी मसिना गुरुङलाई सम्मान गरिएको थियो।

यसअघि ट्होटें समारोहको प्रमुख अतिथि स्वास्थ्य मन्त्री खगराज अधिकारीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

ट्होटे समारोहमा सहभागीताका लागि तमुहरु मौलिक भेषभुषा, झाँकी बाजागाजा सहित पुरानो टुँडिखेलबाट शुरु भएको मौलिक ट्होटे र्याली बागबजार, विन्दवासीनी नालामुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल भिमसेनचोक, नयाँबजार हुदैतमु धिंमा ट्होटें खेल्दै सेती किनारमा खेलाउन पश्चात तमु धिं नेपालमा पुगेको थियो।

यसै बिच ट्होटे र्यालीमा आयोजित प्रतियोगितामा लेखनाथको सुर्यमुखी तमु समाज सर्वोत्कृष्ठ हुदै ४ हजार नगद सहित पुरस्कृत भएको छ । मुल्यांकन समितिका संयोजक राजेन्द्र गुरुङले मुल्यांकनको घोषणा गर्नुभएको नतिजा अनुसार झाँकीमा फूलवारी तमु समाज, बाजागाजामा दुधपोखरी तमु समाज, सहभागीतामा पैयुखोला तमु समाज र भेषभुषामा जनकल्याण तमु समाज उत्कृष्ट बन्दै जनही २ हजार पाँच सय रुपैया सहित पुरस्कृत बने । तमु जातिको मौलिक नृत्य घाँटु संरक्षणमा जुटेको भन्दै आँधीखोला तमु समाजलाई विशेष पुरस्कृत गरिएको थियो।

यसरी नै सान्त्वना हुनेहरुमा भरतपोखरीको भुलभुला तमु समाज, ढिकुरपोखरीको हाल्जेभाई तमु समाज, अर्घौ तमु समाज, कोल्माबहाकोट तमु समाज, तमु सहयोग समिति पार्दी, ब्रेंजमेश्रो घान्द्रुक तमु समाज, भिमकालीपाटन तमु समाज, मिरुवा तमु समाज, हिमाली गुरुङ परिवार र सिमपानी तमु समाज रहेका छन् । सान्त्वना घोषित समाजहरु एक हजार रुपैया सहित पुरस्कृत बनेको थियो।





Comments

comments

930