त्रिमूर्ति निकेतनमा ११४ अौं सम जयन्ती

काठमाडौं- त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले नाट्यसम्राट् बालकृष्ण समको ११४ औँ जयन्तीको उपलक्ष्यमा आज राजधानी काठमाडौंमा बालकृष्ण समको पूर्णकदका सालिकमा माल्यार्पण गर्नुभयो। सोही अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण गर्नुभयो।

त्रिमूर्ति निकेतनद्वारा आयोजित विशेष काव्यसभामा सुनीता कार्की, अमेरिकाका नीरा शर्मा, रमेश शुभेच्छु, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको थियो।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नाट्यसम्राट् बालकृष्ण समको नेपाली भाषासाहित्यमा भएको योगदानका विषयमा चर्चा गर्नुभयो । साथै उहाँहरुले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हुन्छ भन्नुभयो।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविका सम्मानमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो।

बालकृष्ण समको सङ्क्षिप्त परिचय
समरशमशेर तथा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्र बालकृष्णशमशेर जबराको जन्म १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो।

बालकृष्ण समले दरबार हाइस्कुलमा दशौं कक्षासम्मको अध्ययन गरेपछि कोलकाताबाट म्याट्रिक गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा विज्ञान पढे। त्यसै बखत उनी सैनिक सेवाको कप्तानमा पनि प्रवेश भए । लेफ्टिनेन्ट कर्र्णोल भएपछि बालकृष्णले सैनिक सेवा छाडे।

१९७० सालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई बालकृष्णले नै ‘नेपाली भाषा प्रकाशिनी समिति’मा रूपान्तर गराए । केही कालसम्म उनी त्यही प्रकाशिनी समितिका अध्यक्ष भए । २००० सालभन्दा अघिदेखि नै उनी त्रिचन्द्र कलेजमा पनि नेपाली पढाउँथे।

बालकृष्ण जनतासँग क्रमशः हिँड्न थाले । अनि उनले आफूसँगसँगै आफ्ना छोरा जनार्दनलाई पनि हिँडाउन थाले । त्यतिबेला उनीहरू जनधारणामा आबद्ध भाषण गर्दै हिँडेवापत दुबै जना पक्राउ परेका थिए।

बालकृष्णशमशेरसँगै त्यसबेला न्हुच्छेमान पनि पक्राउ परे । न्हुच्छेमानले राणाका सेनाको कुटाई खाएर मर्नुपरेको घटनाले बालकृष्णको भावना कुँडिएको थियो । २००७ सालको जनक्रान्तिको सफलतापछि जेलमुक्त भएका उनी समवेदना अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गएका थिए । अनि त्यसै दिनदेखि उनले शमशेरको ‘शेर’लाई काटेर आफ्नो थर ‘सम’ लेख्न थाले।

२००७ सालको क्रान्तिपछि सम रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए। त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए।

सम एउटा उच्चकोटिका चित्रकार र कुशल अभिनेता पनि थिए।

समले नेपालका विभिन्न भूभागको भ्रमण गरे । साथै उनले भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रूस र अमेरिकाको पनि भ्रमण गरे।

समका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भए। सम गोरखादक्षिणबाहु प्रथम, राजकीय पदक र त्रिभुवनजयन्ती पदकबाट विभूषित भए । उनी ‘त्रिभुवन प्रज्ञापुरस्कार’का साथ ‘पृथ्वी प्रज्ञापुस्कार’बाट पनि सम्मानित भए।

२००९ सालमा दार्जीलिङ पुगेका बेला साहित्यका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिमूर्तिमा घोषित भएका थिए । नेपाली भाषासाहित्यमा अति उत्कृष्ट नाटक लेखन र मञ्चनका शिखर व्यक्तित्व समलाई नाट्यसम्राट् भनिन्छ।

समको २०३८ साल साउन ६ गते काठमाडौंमा स्वर्गारोहण भयो । उनको महिमामा सरकारले हुलाक टिकट प्रकाशनमा ल्यायो। साथै काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति निकेतनबाट उनको पूर्णकदकाको सालिक उभ्याइएको छ, जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन्।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव,
त्रिमूर्ति निकेतन





Comments

comments

Leave a Reply

10950