उत्कृष्ठ होइन, अलोकतान्त्रिक संविधानः पद्मरत्न तुलाधर

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३ माघ। पूर्वसभामुख, संविधानविद दमननाथ ढुंगानाले असन्तुष्टहरुको राष्ट्रिय सम्मेलन गरी उनीहरुको माग संविधानमा सम्बोधन गराउनुपर्ने बताउनुभएको छ।

तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले आइतवार पोखरामा आयोजना गरेको नेपालको संविधानको विरोध किन ? विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्नु हुदै वरिष्ठ अधिकारकर्मी ढुंगानाले संविधान जारी गर्नु अघि असन्तुष्टिहरु हुदा हुदै संविधान जारी गरिएकाले मुलुकमा संकटको अवस्था आएकोले थप मुठभेडको अवस्थामा जान नदिन वार्ता र सहमतिबाटै सबैको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभयो।

उहाले अहिले संविधान त बन्यो तर जनताको होइन दलको बन्यो भन्ने टिप्पणी गर्नुहुदै संविधान निर्माणमा दलले व्हीप जारी गर्नु दुखदायी भएको बताउनुभयो । पार्टीकै व्हीपका कारण जनजाति भए पनि जनजातिका कुरा संविधान सभामा बोल्न पाएनन्, पार्टीका कुारा बोले, त्यसैले यो संविधान प्रकृया र विषयवस्तुका आधारमा अधिकार सहितको संविधान बन्न नसकेको बताउनुभयो । जनताले अधिकार सहितको संविधान चाहन्थे त्यो भावनाको कुठराघात भएको छ भन्नुहुदै उहाँले तमुवान लगायत, लिम्बुवान, मगराँत, मधेश, थरुहट सबै आन्दोलनहरु अधिकारका लागि भएकोले आन्दोलन प्रति ऐक्यवद्धता जनाउनुहुदै राज्यले जनताको माग सुनुवाई गरी अधिकार सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अर्का वक्ता वरिष्ठ मानवअधिकारकर्मी तथा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधारले नेपालका बहुसंख्यक जनता बेखुस भएको संविधानलाई विश्व कै उत्कृष्ठ संविधान भन्नु हास्यस्पद हो भन्नुभयो । उहाँले पार्टीको व्हीप मात्रै होइन आदेश र धम्कीबाट मस्यौदा समितिले समेत मस्यौदा पढ्न नपाई संविधान आएकाले उत्कृष्ठ होइन, जनताको अधिकार विहिन अलोतान्त्रिक संविधानको संज्ञा दिनुभयो।

उहाँले संविधान लागु नहुदै संशोधन प्रस्ताव आउनु संविधानमा ठुलो त्रुटि छ भन्ने स्विकारोक्ति हो भन्नुहुदै यस संविधानलाई नेपालको कुनै पनि आन्दोलनले स्विकार नगरेको दावी गर्नुभयो । अधिकारकर्मी तुलाधरले नेपाली जनता जागरुक भए अधिकार विहीन, पहिचान विहीन, समानुपातिक प्रतिनीत्वि विहिन, सामुदायिक अधिकार विहीन संविधान जारी गर्ने आँट नेताहरुले गर्ने थिएनन् भन्नुहुदै १२५ जाति १२३ भाषा भएको मुलुकमा एक समुदाय र एक भाषालाई आधिकारिता दिनु उत्कृष्ठ संविधानको नमुना हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आन्दोलनबाटै अधिकार प्राप्ति हुने भएकाले तमुहरु नाच्ने र रमाउने मात्रै नभई अधिकारका लागि आन्दोलित हुन आग्रह गर्नुभयो।

नागरिक अगुवा विजयकान्त कर्णले नेपालको संविधानलाई षडयन्त्रको संविधानको उपमा दिनुहुदै अलोकतान्त्रिक विधिबाट ल्याइएको संविधानका एक सय भन्दा बढी धाराहरु नेपाली जनताको विरुद्धमा भएकाले जनताले संविधान अस्विकृत गरी आन्दोलित भएको बताउनुभयो । समानुपातिक प्रतिनीधित्व, सामुदायिक अधिकार, पहिचान, पहुँच, विविधता, संघीयता, सामाजिक न्यायका अधिकारहरु कटौती गरी संविधान जारी गरिएकाले संविधानका विरुद्ध जनता आन्दोलित भएको बताउनुभयो।

उहाँले मधेशी आन्दोलनलाई समेत राज्यले फरक ढंगले व्यवहार गरिरहेको बताउनुहुदै मेधशीहरु आफ्ना लागि मात्रै नभई देशैभरको जनताका अधिकारका लागि बलिदान दिइरहेको बताउनुभयो। अधिकार सुनिश्चितताका लागि संयुक्त आन्दोलन जरुरी रहेको बताउनुभयो।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा पोखरा उद्योग बाणिज्य संघको हलमा भएको कार्यक्रममा नेपाल जनभावना पार्टीका अध्यक्ष सुर्य खड्का विखर्ची, थकाली सेवा समितिका निवर्तमान अध्यक्ष अम्बर तुलाचन, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, कृष्णबहादुर गुरुङ, इमानसिंह गुरुङ, नेम गुरुङ, जगन गुरुङ, धर्मराज गुरुङ, सुवेदार नौबहादुर गुरुङ, हेमप्रसाद गुरुङ लगायतले अन्र्तक्रिया कार्यक्रममा जिज्ञासा राख्नु भएको थियो भने संचालन तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

10623