साइप्रसमा नेपालिज धमाका भब्यरुपमा सम्पन्न: राई इज किङ युवतीहरुको घेरामा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
आइतबार साइप्रसमा रहेका नेपालीहरुको चहलपहल बिहानैदेखि सुरु भएको थियो। साइप्रसको धेकिया ,निकोसिया ,पारालिम्नी ,लिमासोल ,पाफोस ,लार्नाकालगायतका शहरहरुको चोकचोकमा राखिएका सिटीबसहरुबाट साइप्रसको लिमासोलस्थित सेन्ट जर्ज हलको प्रागनमा १० बजेदेखि नै नेपालीहरु आ-आफ्नो नेपाली पहिरनमा सजिसजाउ भएर जम्मा भएको देखिन्थ्यो।

सोनाम ल्होसारको अवसर पारेर आयोजना गरिएकोले तामाङ भेषमा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने त्यसै दिन भ्यालेंटाइन डे पनि परेकोले केही युवायुवती सजिसजाउ भएर आएका देखिन्थे।

सोनाम ल्होसार तथा भ्यालेंटाइन डे को अवसरमा त्यहिमाथि आइतबारको सार्वजनिक बिदा परेको उक्त दिन नेपालबाट प्रथम पटक आएका चर्चित गायक राजेशपायल राई र मौसमी गुरुङको आगमनले पनि बिशेष दिन रहेको थियो साइप्रसका नेपाली हरुलाई। कमैमात्र जमघट हुने साइप्रसका नेपालीहरुको जमघट आइतबार “नेपालिज धमाका २०१६ “ मा उल्लेखनीय देखिन्थ्यो।

साइप्रसको स्थानीय समय अनुसार बिहान ११:३० बाट नेपाली राष्ट्रिय गानबाट सुरु भएको नेपालिज धमाका २०१६ को सुरुवात स्थानीय कलाकारको नृत्यबाट सुरु भएको थियो। त्यसलगतै चर्चित गायिका मौसमी गुरुङ “चोरेर लग्यो यो मन कतै “भन्दै स्टेजमा देखा परिन्। च्याङ्बा होइ च्याङ्बा , कान्छी है कान्छी , शितल शितललगायत विभिन्न चर्चित गीतहरु गाएर उनले करिब एक घण्टा आफ्ना गीतको तालमा भरपूर मनोरंजन दिंदै सबैलाई नचाउन सफल भईन्।

तिमीसंग जिउने मर्ने चाहना छ मेरो – नाइँ नभन्नु ल ,नाइँ नभन्नु ल भन्दै स्टेजमा आएका राई इज किङ राजेशपायल राईले माहोललाई करीब २ घण्टासम्म तताएका थिए।

अर्को जुनी जुनी भेट होला कि नहोला ,फूलै फूलको मौसम , मैना राजा मैना रानी , फैलियो माया दुबोसरी, सागर सरि चोखो माया , मोहनी लाग्ला है ,धरान धनकुटा भेडेटार ,दर्शन नमस्ते ,सेन्टारम लगायतका आफ्ना करीब डेढ दर्जन गीतहरु लगातार गाएका राई इज किङको प्रत्येक प्रस्तुतिमा दर्शकहरुको उत्तिकै झुम्मिएका थिए। उनी गाउँदा गाउँदै स्टेजमा चढेर उनीसंगै नाच्ने तथा सेल्फी लिनेहरु तथा रातो गुलाफ दिने युवतीहरुको भिडलाई सम्हाल्न आयोजक तथा सेकुरिटी गार्डहरुलाई हम्मे – हम्मे परेको थियो।

राजेशपायल राई स्टेजबाट निस्केपछि पनि बाहिर निस्कन उनलाई करिब आधा घण्टा नै लागेको थियो। उनी बाहिरसम्म युवतीहरुको घेरामा परेका थिए। युवती तथा महिला प्रशंसकहरुबाट राई इज किङलाई फुत्काउन आयोजकलाई निक्कै अफ्ठेरो परेको देख्न सकिन्थ्यो।

दुवै गायक – गायिकाहरुको प्रस्तुतिबाट थाकेका दर्शकहरुलाई पुन स्थानीय चर्चित डिजे जेजेले पुनः आफ्नो तालमा नचाएका थिए । उनले करिब २ घण्टा साँझ पाँच बजेसम्म नेपाली , हिन्दी तथा अंग्रेजी गीतहरुमा करिब एक हजार दर्शकहरुलाई नचाएका थिए।

एनआरएन साइप्रसका अध्यक्ष सुभास मल्लको अतिथ्यमा सम्पन्न कार्यकर्मको उद्घोषण सुरेन ताम्लिंग लिम्बुले गरेका थिए । ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार ,सुरेन्द्र तम्लिंग ,गौतम गुरुङ , गोबिन्द सिरिश ,जुगप्रसाद जुग्जेली , भिमराज गुरुङको संयुक्त आयोजनामा तथा सिल्भर इन्टरटेनमेन्ट ,नेपालको ब्यस्थापनमा आयोजना भएको “नेपालिज धमाका -२०१६” लेस साइप्रसमा धमाका नै गरेकोमा मक्ख देखिन्थे आयोजक कमिटिका सदस्यहरु।

कार्यक्रममा आएका दर्शकहरुले करिब ६ घण्टा चर्चित सेलेब्रेटीहरुसंग भरपूर मनोरंजन गर्न पाएकोमा पनि एकदमै खुसि देखिन्थे । धेरै कम कार्यक्रम आयोजना हुने साइप्रसमा यसरि बेला बेलामा कार्यक्रम आयोजना हुनुले नेपालीहरुको एकता झल्किने तथा मनोरंजन तथा भेटघाट पनि हुने अधिकांश सहभागीहरुको भावले झल्किन्थियो।

कार्यक्रमको सफलताबाट उत्साहित आयोजक ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेशकुमार परियारले समय अनुकूल पारेर यस्ता कार्यक्रमहरु आयोजना गरिरहने बताए।

थप फोटोहरु यहाँ हेर्नुहोस् फोटो: बरुण मगर

भिडियोः
https://goo.gl/brLGVl





Comments

comments

Leave a Reply

11127