गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर…
गोर्खा सत्याग्रह आन्दोलन नै गोर्खा आन्दोलनको इतिहासमा एउटा यस्तो महान आन्दोलन हो जसले धेरै कुराहरुमा पृथक र गरिमामय इतिहास रचना गरेको छ ।

यस आन्दोलनबाट उत्पन्न प्रचन्ड ज्वारभाटाका कारण नै हामीले दुई सय वर्षदेखि भोग्दै आएको र अनुभूत गरेको मार्मक पीडाका पहाडहरुलाई हामी आफैले लेखेर र आफैले भनेर पीडकहरुलाई इतिहास मै पहिलो पटक बेलायतको सम्मानित संसदको अत्यधिक अधिकार सम्पन्न बेलायती सर्वसाधरणहरुको सदन हाउस अफ कमन्समा सुनाउने सुनौलो अवसर प्राप्त गरेका थियौ । त्यो बेलासम्म कुनै पनि गोर्खाहरुको पाईलासम्म नपरेको र भविष्यमा पर्छ भन्ने कल्पनासम्म गर्ननसकेको हाउस अफ कमन्सका कैयौं जाज्वल्यमान कक्षहरु हाम्रो लागि पानी पंधेरो भएका थिए ।

हामीले भोगेको र अनुभूत गरेको सम्पूर्ण पीडाहरुलाई लेखेर बुझायौ भने मौखिक सुनाई कैयौं दिनसम्म चल्यो । मौखिक सुनाईमा विश्वविख्यात अक्सफोर्ड विश्वविधालायका प्राध्यापकदेखि लिएर गोर्खा बुद्दिजीवीहरु, बेलायती सेनाबाट निवृत्त वरिष्ठ सैनिक अधिकारीहरु, एकमात्र जीवीत भीसी, बेलायत स्थित नेपाली वुद्दिजीवीहरु र पीडितहरु स्वयमले पीडा र गुनासाहरुको फेहरिस्त सुनाएका थिए । हामीले भोगेका र अनुभव गरेका दुःख, पीडा र बेदनाका अथाह गहिरा सागरलाई आफैले लेखेर र आºनै मुखारविन्दबाट पीडकहरुलाई सुनाउन पाउनु जस्तो सुनौलौ अवसर हाम्रा लागि अरु के हुन सक्छ ? हाम्रा करुणामय कथा, व्याथाहरुका बारेमा अरुले लेख्नु र हामीले लेख्नु र अरुले भन्नु र हामीले भन्नुमा धर्ती आकासकै भिन्नता हुने नै थियो । तर त्यस्तो एउटा सुन्दै असम्भव लाग्ने र दुर्लभ अवसर हामीले जुराएका थियौ । उक्त अदभूत र दुष्कर अवसर ससक्त र व्यापक गोर्खा सत्याग्रह आन्दोलनकै उपज थियो ।

त्यस पछि ज्याकी डोयेल प्राईस र उनले नेतृत्व गरेको आयोगका केही सदस्यहरु नेपाल सरकारका अधिकारीहरु र गोर्खा तथा परिवारहरुलाई भेटन र उनीहरुका भनाई तथा डोयेल प्राईस र सदस्यहरुको अनुभूतिको आधारमा प्रतिवेदन परिमार्जन गरि उक्त प्रतिवेदन बेलायत सरकारलाई बुझाउने हल्ला बजारमा आउनासाथ हामी नेपाल हानिएका थियौ । हाम्रो भ्रमणको प्रमुख उद्देश्य डोयेल प्राईस तथा उनका सदस्यहरुसंग भेट हुनसक्ने नेपाल सरकारका सम्पूर्ण अधिकारीहरुलाई हाम्रो बारेमा पूर्ण समानताका कुरा गरुन भनी सम्झाउनु थियो ।

विगतका सरकारहरुले जस्तो केही सुधारका कुरा, दयाका कुरा वा गोर्खाहरुको सुविधा वृद्दि होइन, उनीहरुलाई पर्याप्त छ, नेपाल सरकारलाई आर्थिक सहयोग गर्नुप¥यो भने जस्ता गलत, पक्षपातपूर्ण र भ्रमपूर्ण कुराहरु भएर मुखैमा आउन लागेको गास नगुमोस भन्ने हाम्रो प्रवल चाहना थियो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु लगायत सरकारका वरिष्ठ कर्मचारीहरुलाई डोयेल प्राईसहरुले भेटनु भन्दा पहिला भेटेर हामीले उनीहरुका गलत विचारहरुलाई सच्याएर उनीहरुको दिमाखमा न“या विचारहरु भरेर उनीहरुलाई अपडेट गरेका थियौ । हामी एउटै समयमा नेपाल गएका हुनाले कतिपय व्याक्तित्वहरुलाई भेटने सन्दर्भमा हामीले केवल नियतीका कारण उनीहरुभन्दा पहिला भेटन सकेका थियौ । नत्र दुर्भाग्य हुन सक्थ्यो ।

त्यसकारण, नेपाल सरकारका सम्पूर्ण अधिकारीहरुले यसपटक डोयेल प्राईस र उनका सदस्यहरुसंग हाम्रा मागहरुको सम्बन्धमा हाम्रा भनाइहरुलाई आत्मसात गर्दै पूर्ण समानताको कुरा नै उठाएका थिए, विगतमा जस्तो गल्ति गरेका थिएनन । त्यस पछि उनले प्रतिवेदनलाई केही परिमार्जन गर्दै डाउनीङ स्ट्रिटलाई बुझाइन । विडम्वना नै मान्नुपर्छ यस्तो एउटा ऐतिहासिक आयोगले पनि युरोपीयन अदालतमा मुद्दा चलिरहेको हवाला दिदै समान पेन्सनको बारेमा कुनै सिफारिस गर्न नसक्ने अडान लियो र गरेन पनि । आयोगले चाहाने हो भने अथवा बेलायती संसदले चाहाने हो भने अथवा सरकारले चाहाने हो भने त्यस्तो अदालतले सार्वभौम बेलायतलाई रोक्न सक्ला ?

जे जति शिर्षकहरुमा सिफारिस भएका थिए ती शिर्षकहरुमा पनि डाउनीङ स्ट्रिटले हामीले अपेक्षा गरे अुनरुप निर्णय गरेन । हामीले यस पटक पूर्ण समानता स्थापित हुने र सदियौं देखिको हाम्रो समस्या सदाका लागि हल हुने विश्वास लिएका थियौ । दुर्भाग्य, डाउनीङ स्ट्रिटको भेदभावपूर्ण निर्णयले हामीलाई फेरी पनि निरास बनायो । यथार्थ के भयो भने सत्याग्रह आन्दोलन सबैभन्दा ससक्त, व्यापक र महान थियो तर बेलायतले गति नै छोडेपछि त्यस्तो आन्दोलन पनि निकम्मा सावित भयो । तर बेलायतले जर्बजस्त अन्याय थोपरेको मात्र हो । सत्याग्रह आन्दोलन कम्जोर थियो भन्ने कुरा कुनै हालतमा सत्य हु“दैहोइन । बरु माथि भनेजस्तै सबैभन्दा महान चाहि अवश्य थियो ।

त्यसपछि भने हामीले हाम्रो आन्दोलनलाई नेपालमा केन्द्रीत गरेको छौ । केही वर्षदेखि बेलायतमा बस्दै आएको भएता पनि राजनीतिक, सामाजिक, सास्कृतिक, भाषिक, धार्मिक हिसावले हामी नेपाली नै हौ । आज पनि हामी नेपाल बाहिर जानु पर्दा नेपाल राज्यले दिएको राहदानी नै प्रयोग गर्दछौ । राहदानी बेगर हामी कतै जान सक्दैनौ । त्यसकारण हामी आज पनि नेपाली नागरिक हौं र हाम्रो बैध अभिभावक भनेको नेपाल सरकार नै हो । त्यसैले नेपाल सरकारले हाम्रो समस्या हल गर्नको निमीत्त पहलकदमी लिनु उसको परम दायित्व हो । यहि सिलसिलामा हामीले आजसम्ममा कैर्यौ पटक नेपाल सरकारका प्रतिनिधिहरुलाई भेटिसकेका छौ । यो विषयमा हिजोआज मूलत परराष्ट्रमन्त्री कमल थापा सकारात्मक र सक्रिय लाग्छन । उनी बाहेक अरु कैयौंलाई पनि हाम्रा वेदनामय समस्याहरुको बारेमा हामीले सविस्तार जानकारी गराएका छौ र ती सबैले निर्विवादरुपमा आ–आºनो ठाउ“बाट आफूले खेल्न सक्ने भूमिका निर्वाह गर्न कुनै कसर बाकी नराख्ने वलियो आश्वासन दिएका छन ।

डाउनीङ स्ट्रिटलाई हामीले दोस्रोपल्ट दिएको अल्टिमेटमको संघारमा परराष्ट्रमन्त्री कमल थापाले भोक हडताल गर्न पर्दैन, वार्ता र कुटनीतिको माध्यमबाटै हामी समस्या हल गछौ भनेर वलियो आश्वासन दिएका थिए । त्यस अनुरुप उनले त्यसको केही समय पछि बेलायत सरकारलाई यो विषयमा नेपाल सरकार वार्ता र कुटनीतिको माध्यमबाट समस्या हल गर्न इच्छुक रहेको पत्र लेखेका थिए । अमेरीकाको भ्रमण समाप्त गरि नेपाल फर्कदा बेलायत पसेको बेला उनले यो विषय उनका बेलायती समकक्षीसंग पनि उठाएका थिए ।

घटनाक्रम अहिले त्यो भन्दा धेरै अगाडि बढीसकेको छ । पछिल्लो विकास भनेको केही समय अगाडि वार्ता र कुटनीतिक माध्यमबाट गोर्खा तथा परिवारहरुको लामो समय देखिको गुनासोलाई सम्वोधन गर्न नेपाल सरकारको तर्फबाट सकारात्मक र तिब्र इच्छा अभिव्यक्त भएको पत्र बेलायत सरकारलाई पठाइएको जानकारी हामीलाई प्राप्त भएकाृे छ । अन्य प्रयासहरु पनि भइरहेका छन । यसको अतिरिक्त बेलामौकामा नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरुसंग हाम्रा प्रमुख संयोजक श्री कृष्ण बहादुर राईज्यूको कुराकानी पनि भैरहेको छ । अर्को एउटा ऐतिहासिक घटना र सराहनीय उपलब्धि भनेको श्रम तथा परराष्ट्र सम्बन्ध समितिले यो विषयलाई सरकारको वरिष्ठ उपप्रधानमन्त्री कमल थापाको उपस्थितिमा बहस गराउनु पनि हो ।

इतिहासमै पहिलो पटक हाम्रो समस्यालाई सरकारको यतिको वरिष्ठ मन्त्रीले राष्ट्रिय कार्यसुची भएको बताएका थिए । उनको त्यो स्वीकारोक्तिले मुलुकमा एउटा हलचल पैदा गरेको थियो । उनको त्यो स्वीकारोक्ति देश–विदेशमा मिडिया र शक्तिसाली सामाजिक सन्जाल मार्फत छताछुल्ल भएको थियो । नेपालको लोकतन्त्र अब कागजी मात्र नभएर व्यवहारमै खरो उत्रीन सक्ने हदसम्म विकाश भइसकेको अनुभूत हुन थालेको छ । अब उप्रान्त सरकारबाट आजसम्म उपेक्षित हाम्रो समस्याले त्यही अनुपातको महत्व पनि प्राप्त गर्ला भन्ने आसा जागेको छ । उक्त बहसमा उपस्थित सम्पूर्ण मन्त्रीहरु र सांसदहरुले बेलायती भेदभाव गम्भिर भएको र द्विशतवार्षिकी उत्सव मनाईरहेको अवस्थामा त्यसलाई वार्ता र कुटनीतिको माध्यमबाट अनिवार्यरुपमा अन्त्य गर्न सरकारलाई निर्देसन दिएका थिए ।

पछिल्लो समयमा विकसित सम्पूर्ण घटनाक्रमहरु तथा हामीलाई सरकार, सम्बन्धित मन्त्रीहरु, सरकारका वरिष्ठ अधिकारीहरुले दिएको वलियो आश्वासनहरु बारे गम्भिर ढंगले मनन, चिन्तन र विश्लेषण गर्दा आज गोर्खा सत्याग्रह आन्दोलन निर्णायक मोडमा आईपुगेको आभाष हुन्छ । हामीले जुलाई १ तारिखसम्म स्थगन गरेको भोक हडताल सम्भवत गर्नु नर्पला र पुनः स्थगन गर्नु पनि नर्पला भन्ने आसा र विश्वास पलाएको छ । यसको अर्थ त्यो बेलासम्ममा हाम्रो समस्या पूर्णरुपले सम्वोधन भइसक्छ भन्ने होइन कि समस्या हल गर्ने दिशामा कमसेकम केही भरपर्दा घटनाक्रमहरु विकास भएका हुने छन । यसको सम्बन्धमा हामीले महसुस गर्नुपर्ने महत्वपूर्ण कुरा के हो भने हाम्रो समस्या धेरैवर्ष देखि गुजुल्टिएर रहेको समस्या हो । यसका धेरै आयामहरु छन । ती सबैलाई मिहिन ढंगले केलाएर मात्र निष्कर्षमा पुग्नु युक्तिसंगत हुन्छ । त्यसको अतिरिक्त एउटा राज्यले अर्को राज्यसंग प्रकृया पु¥याएर बहस, छलफल गरेर टुङगोमा पुग्नुपर्ने विषय भएको हुनाले पनि यसले केही समय लिन्छ । त्यसकारण, माथि भनेजस्तै विश्वस्त घटनाक्रमहरु विकाश भए हामीले धैर्य गर्नुपर्छ । नत्र उचित समयमा आपतकालीन बैठक बसी विगतमा जस्तै वस्तुगत र वुद्दिमत्तापूर्ण निर्णय लिइने छ ।

खुसी, साहस, शक्ति र नैतिक बलको पनि कुरा हो कि कथङकदाचित दुर्भाग्य भए हाम्रो साथमा व्रिटिस भेर्टनसहरु पनि हुनेछन । उनीहरुको जर्वरजस्त तर्क के छ भने, “हामीलाई लाग्ने गोलीले गोर्खाहरुलाई पनि लाग्थ्यो, हामीलाई उडाउने बमले गोर्खाहरुलाई पनि उडाउथ्यो र हामीलाई घाइते बनाउने गोलीले गोर्खाहरुलाई पनि घाइते बनाउथ्यो । र, साथीहरुको दुःखद मृत्युले गोखाहरुलाई पनि उत्तिकै रुवाउथ्यो । त्यसकारण, सुविधामा उनीहरुलाई किन भेदभाव ? दुई शताब्दीसम्म एउटै प्रकृतिको काम समान जोखिम मोलेर गरेपछि गोर्खाहरुलाई पनि हामीलाई सोसरहको सुविधाहरु प्रदान गरिनु अनिवार्य छ । नत्र हाम्रा प्यारा गोर्खा मित्रहरुको न्यायोचित मागहरु पुरा नभइन्जेल हामी गोर्खाहरुको साथमा रहने छौ,” भनिरहेका छन । कतिले जरुरी भए भोक हडताल पनि बस्ने प्रतिवद्दता जाहेर गरिसकेका छन । मित्रहरुको निम्ती यो भन्दा ठूलो वलिदान र सदासयता अरु के हुन सक्छ ?

त्यसकारण, हामी दृढ रहौ, आसावादी वनौ र धैर्य धारण गरौ । गोर्खा सत्याग्रह आन्दोलनको सफलता अब सुन्ििरश्चत भए झै लाग्छ ।
जय गोर्खा सत्याग्रह, जय ब्रिट्रिस भेर्टनस †

गोर्खा सत्याग्रह
संयुक्त संघर्ष समिति
बेलायत/नेपाल



.















Comments

comments