प्राज्ञिक अन्तरक्रिया गोष्ठी

त्रिमूर्ति निकेतनका आयोजनामा हुन लागेको “नेपाली भाषा साहित्यको विस्तारमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका” विषयक तीन दिने बृहत् सम्मेलनका निम्ति आवश्यक तयारीबारेको शनिवार राजधानी काठमाडौंमा अन्तरक्रिया गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले “यस्तो सम्मेलनमा गरिने छलफल र प्राज्ञिक विमर्शबाट प्राप्त हुने निष्कर्षले नेपाली भाषा साहित्यको पठनपाठनको विगत र बर्तमान अवस्थाको समीक्षा गर्दै यसको भावी दिशावोध गराउने छ” भन्नुभयो । उहाँले थप भन्नु भयो “सिङ्गो नेपाली सभ्यता र संस्कृतिको सम्बाहकका रूपमा नेपाली भाषाले खेल्ने भूमिका अकाट्य र अमर छ भन्ने कुराको थप पुष्टि यस प्राज्ञिक सम्मेलनबाट हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा. महादेव अवस्थीको सभापतित्वमा सञ्चालित उक्त अन्तरक्रिया गोष्ठीमा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, आयोजक समितिका उपाध्यक्षद्वय डा.लक्ष्मणप्रसाद गौतम तथा रजनी ढकालले सम्मेलनको उद्धेश्य, महत्व र उपदेयताबारे प्रकाश पार्नुभयो ।

गोष्ठीमा त्रिमूर्ति निकेतनका संयोजकहरू प्रा.ठाकुर पराजुली, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.गार्गी शर्मा, प्रा.डा.उषा ठाकुर, कोषाध्यक्ष उषा शेरचन र सदस्यसचिव नरेन्द्रराज प्रसाईले काठमाडौंमा हुने तीने प्राध्यापकीय सम्मेलनका बारेका आआफ्ना धारणा प्रस्तुत गर्नुभयो ।

उक्त सम्मेलनमा महासमालोचक प्रा.डा.वसुदेव त्रिपाठीको मूल कार्यपत्र रहने र नेपाल तथा भारतका १४ जना वरिष्ठ प्राध्यापकले कार्यपत्र प्रस्तुत गर्ने विषयबारे पनि छलफल भयो । साथै प्रस्तुत हुने कार्यपत्रहरू उपर १५ जना प्राध्यापकद्वारा समालोचना गरिनेबारे समेत सो प्राज्ञिक अन्तरक्रिया गोष्ठीले निष्कर्ष निकालेको थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

Leave a Reply

13098