सुनितालाई झण्डै १० लाखको पुरस्कार

काठमाडौं- महिला तथा बालबालिका बेचबिखनविरुद्ध १८ वर्षदेखि सक्रिय रहँदै आएको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले विश्वविख्यात रोमन म्यागासेसे अवार्ड पाएको एक वर्ष नबित्दै अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन्।

सोफियोस्टेन्बेक फ्यामिली फाउन्डेसन, वर्ल्ड चाइल्डहुड फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले बालअधिकार क्षेत्रमा निरन्तर कार्य गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय बालबालिका पुरस्कार ‘सि १० अवार्ड’ नेपालबाट दनुवारलाई दिने निर्णय गरेका हुन्।

मानव बेचबिखन र व्यावसायिक यौन शोषणविरुद्ध क्रियाशील विश्वभरका १० जनालाई प्रदान गरिने यो अवार्ड झन्डै १० लाख नेपाली रुपैयाँ (१० हजार डलर) को छ। अवार्ड घोषणा सोमबार स्विडेनको स्टकहोमबाट गरिएको हो।

‘भारतमा बेचिएका हामी १५ जनाको आँसुलाई शक्तिमा बदल्दै अरूका आँसुलाई पनि शक्तिमा बदल्नुपर्छ भनेर १८ वर्षअघि शक्ति समूह खडा गरेका थियौं,’ अध्यक्ष दनुवारले सोमबार अमेरिकाबाट फेसबुकमार्फत् नागरिकसँग भनिन्, ‘अन्तर्राष्ट्रिय अवार्डले हामीलाई आफ्नो अभियानमा अघि बढ्न हौसला प्रदान गरेको छ।’

घोषणाअनुसार दनुवार उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। तीनवटै संस्थाद्वारा स्थापित यो अवार्ड आगामी नोभेम्बर ३ मा स्विडेनको स्टकहोममा प्रदान गरिने समाचार आजको नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

1486