उडान वैध कि अवैध?



उडान वैध कि अवैध?
सेती बाढीको सूचना दिएर सयौंको ज्यान जोगाएका अलेक्जेन्डरले अल्ट्रालाइट दुर्घटनामा आफ्नै ज्यान गुमाए

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, ९ मंसिर। पाइलट प्रशिक्षणका लागि एभिया क्लबले बनाएको निजी धावनमार्गबाट बुधबार भएको उडान वैध वा अवैध के थियो भन्ने प्रश्न उठेको छ। बिहान ९ बजे भएको उडान दुर्घटनामा परेपछि त्यो प्रश्न उठेको हो । तर प्रश्नको जवाफ साँझसम्म फेला परेन। यसबारे नागरिक उड्डय प्राधिकरणको शाखा पोखरा विमानस्थल कार्यालयले एभियालाई बुधबारै जानकारी मागेको भए पनि उसले जवाफ फर्काएन।

विमानस्थलका निर्देशक भोला गुरागाईंका अनुसार एभियाको ह्याङग्लाइडर दुर्घटनाबारे जाँचबुझ गर्न प्राधिकरणको टोली पोखरा आइसकेको छ। ‘हामीले एभियालाई सोधेका छौं, उनीहरुले आज दुर्घटनाकै कारण बिजी भयौं, भनेका छन्, भोलि जवाफ आउला,’ गुरागाईंले भने।

पाइलट कोर्स पढाउने धावनमार्गबाट क्यानडेली पर्यटकलाई किन उडाइयो भन्ने यो दुर्घटनासँगै उठेको अर्काे प्रश्न हो। ह्याङ्ग्लाइडरको डोरीले तानेर उड्ने अल्ट्रालाइटमा पनि २ जना थिए। तिनीहरु पाइलटिङ सिक्दै थिए वा दृश्यावलोकनका लागि उड्न लागेका हुन् भन्ने पनि खुलेको छैन।

चापाकोटको धावनमार्गबाट भएका कुनै पनि उडान पोखरा एयरपोर्टको टावरसँग सम्पर्कमा आउँदैनन् । एभिया क्लबले पाइलट कोर्स सिकाउन प्रयोग गर्ने गरी नागरिक उड्डयन प्राधिकरणबाट धावनमार्ग सञ्चालन अनुमति प्राप्त गरेको हो।


— कास्कीको चापाकोट—बाम्दीमा बुधबारको अल्ट्रालाइट जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट अलेक्जेन्डर म्याक्सिमोभ । तस्बिर साभारः नेपाली टाइम्स

बुधबारको दुर्घटना हुँदा रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभले ज्यान गुमाए। २७ वर्षीया क्यानडेली नागरिक जिलेनी भोल्कर घाइते भइन्। बिहान ९ बजेतिर आकाशमा उडेको केहीबेरमै जहाज भुइँमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख इन्स्पेक्टर मोहनमणि अधिकारी बताए । ‘धावन मार्ग छाडेर केही माथि पुगेपछि अल्ट्रालाइटभुइँमा बजारिएको हो,’ उनले भने, ‘अल्ट्रालाइट उत्तानो परेर बजारिँदा रसियन पाइलट म्याक्सिमोभको टाउको पनि बजारिन पुग्यो।’

२ जना पर्यटक यात्रु बोकेको अल्ट्रालाइटलाई डोरीले तानेर उड्ने क्रममा अलेक्जेन्डरले उडाएको ह्याङ्ग्लाइडर दुर्घटनामा परेको हो । उडेर १ फिट उचाइ लिनेबित्तिकै डोरी छिनेको र ह्याङ्ग्लाइडर पनि खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

म्याक्सिमोभको उपचारको क्रममा मृत्यु भएको इन्स्पेक्टर अधिकारीले बताए ।उनले भने, ‘यस विषयमा विज्ञ प्राविधिक टोलीले अनुसन्धन अघि बढाएको छ ।’ विगत १५वर्षदेखि अल्ट्रालाइट उडाउँदै आएका म्याक्सिमोभ ६२ वर्षका थिए।

घाइते भोल्करको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । भोल्करको पेटमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ । उनको आइसियुमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।


— अल्ट्रालाइट जहाज दुर्घटनामा घाइते क्यानडेली पर्यटक उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा। तस्बिर: अर्जुन गिरी

९ एन–एएलएल कलसाइन भएको ड्रागन जहाजले धावनमार्ग छाडेर केही माथि पुगेपछि सन्तुलन गुमाएको प्रहरी अधिकारी बताउँछन् । अर्काे अल्ट्रालाइट जहाजलाई डोरीलाई तानेर उडेको केहीबेरमै अलेक्जेन्डरले उडाएको जहाज भुइँमा खसेको हो। पछाडि डोरीले तानिँदै गरेको जहाज पनि सामान्य दुर्घटनामा पर्यो । तर, त्यसमा यात्रारत २ जना सकुशल रहे।

पाइटलको भन्दा पनि टेक्निकल मिस्टेकले दुर्घटना भएको हुन सक्ने स्रोतको अनुमान थियो। ‘अनुभवी पाइलट हुन् उनी,’ स्रोतले भन्यो, ‘अट्रालाइटको सुरुवाती समयदेखि नै उडाउन थालेका हुन्, त्यति मात्र होइन उनी प्रशिक्षक पाइटल पनि हुन्।’

उनी थिए सेती बाढीको सूचना दिने पाइलट
बर्खा नलाग्दैको त्यो सुख्खा समयमा त्यस्तो बाढी आउला भन्ने कसैले कल्पेकै थिएनन् । आकाशमा उडिरहेका एक पाइलटले आफू एक दशक उड्दा पनि कहिल्यै नदेखेको सेतीनदीको स्वरुप देखे तुरुन्तै खबर पठाए—बाढी आयो, बाढी आयो । उनले पठाएको सूचना त्यति छिटो आइपुगेको थियो, जतिबेला बाढी पोखरा आइसक्न भ्याएकै थिएन । त्यो सूचना त्यतिधेरै शक्तिशाली भयो कि सयौंको ज्यान जान सक्ने सम्भावित खतरा टर्यो । अरु थुप्रैको ज्यान जोगाउन सक्ने सूचना प्रवाह गर्ने उनै पाइलट अलेक्जेन्डर मेक्सिमोभको बुधबार निधन भयो।

बुधबार पनि उनी सधैंजस्तो आफ्नो नित्य कर्ममा थिए, जहाज उडाउने । सेतीमा बाढी आउँदा सयौंको ज्यान सक्छ भन्ने क्याल्कुलेट गरी तुरुन्तातुरुन्तै सूचना प्रवाह गर्ने गरी दिमाग चलाएका त्यस्ता पाइलटलाई बुधबार भने आफ्नो जहाज दुर्घटनामा पर्न सक्ने त्यस्तो कुनै संकेत मिलेन । त्यसैले नै धावनमार्गबाट उडेर १ सय फिट पनि नपुग्दै उनलै उडाएको जहाज भुइँमा गिर्यो र अलेक्जेन्डरको प्राणपखेरु उड्यो।

सेतीमा त्यो अचानक र अप्रत्यासित बाढी आएको दिन २०६९ वैशाख २३ हो । त्यस दिन ९ बजेतिर अलेक्जेन्डरपर्यटकलाईअन्नपूर्ण हिमालको दृश्यावलोकन गराउँदै थिए । ‘सेतीमा बाढी देखेपछि तुरुन्तै एयरपोर्ट टावरमा खबर गर्नुभएछ,’ एभिया क्लबका त्यतिखेरका व्यवस्थापक प्रवीण गौचनले सुनाए, ‘टावरले प्रहरीलाई खबर गरेछ ।’ त्यही सूचनाका आधारमा प्रहरी उद्धारका लागि सार्दिखोला पुगेको थियो।

सैनिक तालिमसमेत लिएका र रुसमा धेरै समय पाइलटिङ गरेका अलेक्जेन्डर आफैंमा सचेत र मानवीय संवेदनायुक्त प्राणी रहेको गौचनले बताए । उनका अनुसार अलेक्जेन्डर १५ वर्षदेखि पोखरामा छन् । उनकै कारण एभिया क्लबले यतिका धेरै व्यावसायिक सफलता पाउन सकेको पनि गौचनले बताए।

सेतीनदीको त्यस दिनको बाढीले झन्डै सयजनालाई बगाएको थियो । सार्दिखोला खारापानीको तातोपानी कुण्डनजिकै पिकनिकमा गएका विद्यार्थीसहित स्थानीय गरी त्यतिका मानिसको ज्यान गएको थियो । थुर्पै घरगोठ र खेतबारी बाढीले बगाएको थियो । बाढी आउन लागेको सूचना रेडियोहरुबाट पनि प्रसारित भएपछि तल्लो भेगको सेतीकिनारका बासिन्दा बेलैमा सुरक्षित स्थानमा बस्न भ्याएका थिए । तर त्यस्तो महत्वपूर्ण सूचना प्रवाह गर्ने पाइलटलाई नै बुधबार पोखराले गुमायो।





Comments

comments

Leave a Reply

15148