‘छेक्यो छेक्यो देउराली डाँडा’का स्रष्टा मिर्गौला पीडित सुक गुरूङलाई १ लाख ७० हजार सहयोग…

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १८ फागुन। मधुमेहले पीडित भई दृष्टि गुमाउनु भएका मिगौला पीडित ५६ वर्षिय वरिष्ठ गीतकार संगीतकार सुकबहादुर गुरुङको उपचारका लागि बुधवार पोखरामा सम्पन्न भेलाले जगनबहादुर गुरुङको संयोजकत्वमा गीतकार संगीतकार सुकबहादुर गुरुङ उपचार सहयोग समिति गठन गरेको छ।

समितिको सहसंयोजकमा तमु साँस्कृतिक परिवारका कोषाध्यक्ष भिमकाजी गुरुङ, सचिवमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका सचिव भुपाल गुरुङ, सदस्यहरुमा लक्ष्मी गुरुङ, सरस्वती गुरुङ, सरीता गुरुङ, युग गुरुङ, शान्ता बज्राचार्य, तेज केसी, ज्ञानबहादुर थापा, सागर शाह, अमृत गुरुङ, बुद्धि गुरुङ रहनुभएको छ।

यसरी नै समितिको सल्लाहकार समितिमा गण्डकी अञ्चल प्रहरी प्रमुख विष्णुहरी गौतम, चेतन कार्की, तिर्थ श्रेष्ठ, सरुभक्त श्रेष्ठ, रमेश श्रेष्ठ, हरिदेवी कोइराला, मेनकाजी गुरुङ, चिजकाजी गुरुङ, रुद्रकुमारी गुरुङ मैना, हीरा गुरुङ, क्या.पुर्णबहादुर ह्योल्मो, पदमराज ढकाल, बुद्धिमान धम्पु, विद्या मर्सानी, दिल गुरुङ,शेरबहादुर गुरुङ, मेजर लक्ष्मीप्रसाद गुरुङ, हुमबहादुर गुरुङलगायत रहनुभएको छ।

छेक्यो छेक्यो देउराली डाडा,भाई टिकामा भेट्न, आँखैमा झलझली, दोष कसैलाई दिन चाहान्न,दोबाटोमा आँखाहरु नझुधेको होइन जस्ता चर्चित दर्जनौ गीतका सर्जक गीतकार संगीतकार सुक गुरुङको उपचारका लागि समितिले तत्काल पहल गर्ने, उपचार सहयोगार्थ अभियान संचालन गर्ने, सहयोग संकलनका लागि सुक गुरुङका गीतहरुको एकल साँस्कृतिक कार्यक्रम गर्ने भेलाले निर्णय गरेको छ।

मिर्गौला प्रत्यारोपण र औषधोपचारका लागि करिब २० लाख खर्च लाग्ने भएकाले भेलाकै अवसरमा १ लाख ७० हजार सहयोग भएको छ। नवगठित उपचार सहयोग समितिका संयोजक जगनबहादुर गुरुङ र उहाँको श्रीमती जमुना गुरुङको तर्फबाट १ लाख रुपैया, सहसंयोजक भिमकाजी तमुले १० हजार, बुद्धिमान धम्पु १० हजार, चिजकाजी तमु १० हजार, एसएसपी विष्णुहरी गौतम १० हजार, मेनकाजी तमु १० हजार, विद्या मर्सानी १० हजार सहयोग गर्नुभएको हो।

२०७१ साल पुस १९ गते देखि अस्वस्थ एवं दुवै मिर्गौला पीडित भई उपचाररत रहनु भएका गुरुङको चिकित्सकको सल्लाह अनुसार उहाँको मिर्गौला प्रत्यारोपण गर्नका लागि साउदी अरबमा कार्यरत २५ वर्षीय जेठा छोरा सबिन गुरुङ तयार रहेकाले म्याचिङका लागि नेपाल आउन लागेको पीडितका धर्मपत्नी जुना गुरुङले बताउनुभयो।

२०३५ सालदेखि गीत संगीत क्षेत्रमा प्रवेश गर्नुभएका मिर्गौला पीडित गुरुङ चितवन दिव्यनगर जन्मनु भई पोखरामा बाल्यकाल एवं अध्ययन पश्चात काठमाडौंलाई कर्म थलो बनाउनुभएको थियो । अहिले श्रीमती जुना गुरुङ र पीडित गुरुङ लेखनाथ डाडाकोनाकमा बस्दै आउनुभएको छ भने ठूलो छोरा साउदी अरब र कान्छा छोरा कतारमा बैदेशिक रोजगारीमा रहेकाछन् । आर्थिक अवस्था कमजोर मिर्गाैला पीडित गीतकार संगीतकार गुरुङको उपचारका लागि यसभन्दा अघि पनि शुभेच्छुक, शुभचिन्तकहरुले देश विदेशबाट सहयोग गरेको पत्नि जुना गुरुङले बताउनुभयो।

बरिष्ठ समाजसेवी तथा व्यवसायी जगनबहादुर गुरुङको अध्यक्षतामा बुधवार पोखराको भँवरकोट पार्टी प्यालेसमा सम्पन्न भेलामा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङ, एसएसपी विष्णुहरी गौतम, तमु साँस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष भिमकाजी गुरुङ, गायक अमृत गुरुङ, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ, गायक सागर शाह, पत्रकार हुम गुरुङ, फोनिज कास्कीका सचिव भुपाल गुरुङ, ह्वाइट लोटसका युग गुरुङ, अभियन्ता लक्ष्मी गुरुङ, तेज केसी, शान्ता बज्राचार्य लगायतले उपचारका लागि तत्काल पहल गर्ने र सहयोग जुटाउने क्रम शुरु गर्नुपर्ने विचार व्यक्त गरेका थिए।





Comments

comments

Leave a Reply

16571