पोखरामा यसरी समातिए… विदेशी एटिएम ह्याकर!

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, ६ चैत। बैंक एटिएमबाट सम्बन्धित व्यक्तिले रकम नझिक्दासमेत रकम घट्यो भन्ने सूचना बैंकलाई आयो। पोहोर यो खबरले पोखरामा रहेका बैंकमा ठूलो हंगामा नै मच्चियो । एटिएमबाट पैसा धमाधम चोरी हुन थालेपछि केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौबाट नै प्रहरी टोली पोखरा आयो।

गत साउन ४ गते कास्की प्रहरीले बैक एटिएमबाट अर्कैको पैसा निकाल्ने २ जनालाई पक्राउ गर्यो भन्ने खबरले बैंकमात्र होइन, ग्राहक पनि ढुक्क भए । त्यस बेला काठमाडौबाट आएको ब्युरो र कास्की प्रहरी मिलेर २ जनालाई पक्राउ गरेका थिए।

त्यसपछि सोही प्रकृतिका घटना दोहोरिँदैन होला भन्ने धेरैलाई लागेको थियो । तर एक महिनाअघि फेरि पोखराको नबिल बैंकले एटिएममा यस्ता घट्ना दोहोरिएको खबर कास्की प्रहरीमा पुग्यो । यसैबीचमा एक विदेशीले लेकसाइडमा रहेको एटिएममा अस्वभाविक क्रियाकलाप देखाए। एटिएममा केही हाल्ने, निकाल्ने गरेको फुटेज देखियो । त्यो दृश्यले नबिल बैंकको ध्यान तान्यो, यसले शंका उब्जायो । त्यसपछि बैकले कास्की प्रहरीलाई खबर गर्यो।

कास्की प्रहरीले ती विदेशीको खोजी अघि बढायो । एक साताअघि फेरि काठमाडाैंको नबिल बंैकबाट फरक हुलिया भएका एक विदेशीले एटिएमबाट रकम निकालेको खबर कास्की प्रहरीले थाहा पायो । एउटा व्यक्ति फेला नपरेका बेला अर्को पनि थपिँदा कास्की प्रहरीलाई चिन्ता बढ्यो । वडा प्रहरी कार्यालय वैदामको क्षेत्रमा त्यो घटना घटेको हुनाले त्यहाँका प्रहरी सक्रिय हुनु स्वभाविकै हो।

शुक्रबार प्रहरीले एक विदेशी नागरिकमाथि शंका गर्यो । त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले संयुक्त रुपमा ती विदेशी नागरिकको पछि लाग्ने निर्णय गर्यो । साझँ ७ बजे नीलो टोपी लगाएका ४५ वर्षीय ती विदेशी गौरीघाटमा रहेको एक एटिएममा छिरे । त्यसपछि स्कुटर चढे।

गौरीघाटबाट लेकसाइडमा रहेका ९–१० वटा एटिएम बुथमा ती बस्ने निस्कने गरेपछि प्रहरीको शंका सत्यनजिक पुग्यो । त्यसपछि उनी विभिन्न पसलमा छिरेर सामान किने । उनका हरेक क्रियाकलापमाथि प्रहरीको आँखा रहिरह्यो । साढे १० बजे एक होटलमा छिरेर केही खाएर ती विदेशी नागरिक बाराही गल्ली छिरे । प्रहरी उनको स्कुटरलाई पछ्याउँदै गैरीघाटको एक अपार्टमेन्ट पुग्यो।

राइनस अपार्टमेन्टबाहिर स्कुटर राखेर उनीभित्र पसे । करिब ११ बजेतिर प्रहरीले उनी छिरेको अपार्टमेन्टमा छापा मार्यो । उनीसँगै अर्का एक विदेशी पनि 
त्यहाँ फेला परे । त्यतिमात्र होइन प्रहरीले अपार्टमेन्टबाट ग्लु, डाटा १४, स्क्रिनिङ, एटिएम ८, नमस्ते मोबाइलका ३ वटा सिम कार्ड, सर्बलियन क्यामेरा, ल्याप्टप ३ वटा, कार्ड रिडर २ वटा, पेन ड्राइभ ७ वटा, मेमोरी कार्ड ७ वटा र स्क्रु ड्राइभरसहित नगद ३ लाख बरामद गर्यो।

बरामद भएका केही मेसिनबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोली आएपछि मात्र थाहा हुने प्रहरी जनाएको छ । यसरी कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामले २ बुल्गेरियन नागरिकलाई पक्राउ गर्न सफल भयो । बैंकले दिएको फुटेज र ती २ को हुलिया मिल्यो । इभानोभ मर्पिन हतोभ र लुसियनोभ रामोन बिभोभलाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरू पुस ४ गते नेपाल आएका थिए भने उनीहरूको भिषाको अवधि वैशाख ५ गते सकिन्थ्यो।

उनीहरु एटिएमबाट चोरी गरेको आरोपमा समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी घनश्याम अर्यालले पुष्टि गरे । ‘बंैकबाट गुनासो आएपछि हामीले खोजी गरेका थियौं,’ उनले भने, ‘शुक्रबार लेकसाइडबाट पक्राउ गरेका हौं।’

घटनाबारे थप अनुसन्धान भइरहेको अर्यालले बताए । ‘उनीहरूबाट अन्य साम्रगीसहित एटिएम ह्याक गर्ने मेसिन पनि फेला परेको छ,’ उनले भने, ‘त्यसबारे बुझ्न केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी आउनु पर्छ ।’ उनीहरू विरुद्ध बैंकिङ कसुर ऐन अनुसार कारवाही चलाइने प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

16829