कृष्ण तिमल्सेनाद्वारा एनआरएनए यूके अध्यक्षको उम्मेदवारी घोषणा

नबीन पोखरेल

लन्डन । बेलायतस्थित एकजना उदयीमान व्यवसायी तथा सक्रिय सामाजिक अभियन्ता कृष्ण तिमल्सेनाले एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

धेरैको अड्कलबाजी अन्त्य गर्दै उनले बुधबार विभिन्न सञ्चारमाध्यममार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । तिमल्सेनाको घोषणासंगै अब एनआरएनए यूकेको चुनावी मैदानमा अध्यक्षका दावेदार तीन जना पुगेका छन् । हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने कार्यक्रम छ।

हाल यूकेबाट एनआरएनएमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य (आइसीसी मेम्बर) रहेका तिमल्सेना एनआरएनए यूकेमा सदस्य हुंदै उपाध्यक्ष भइसकेका छन् । संघमा विगत ९ वर्षदेखि उनको नेतृत्वदायी भूमिका छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष समेत रहेका तिमल्सेना निस्वार्थ सामाजिक र च्यारिटी कामका कारण अधिक रुचाइएका व्यक्तित्व हुन्।

आफ्नो उम्मेदवारी एनआरएन धनीहरुको मात्र क्लब भयो भन्ने जन गुनासो र भ्रम चिर्न केन्द्रित भएको उनले बताए । म आफैं ग्रासरुटबाट आएको सामान्य किसानको छोरा हुं, तिमल्सेनाले भने, त्यसकारण सर्वसधारणलाई एनआरएन हाम्रो पनि हो भन्ने आभास दिलाउंछु। नेपाल हाउस प्रोजेक्टको निरन्तरतासहित बेलायतस्थित विभिन्न संघसंस्थाहरुसंग समन्वय र सहकार्य गरि देश र समाजको हितमा आफूलाई समर्पित गराउने अठोट पनि उनको छ । जहांसम्म जीतको आधार हो, मैले धेरै ब्यक्ति, समुदाय र संगठनलाई परोक्ष सहयोग गरेको छु । आशा छ मलाई पर्दा उहांहरुले पनि दत्तचित्त भइ सहयोगको हात फैलाउनु हुनेछ, उनले भनेका छन्।

विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका उनी समुदायमा अति मिलनसार र सहयोगीका रुपमा चिनिन्छन् । उनले निरन्तर रुपमा आपतविपत परेका नेपालीलाई आर्थिक सहयोग र कयौंलाई रोजगारी दिएका छन् भने जन्मस्थान धादिङ धुवांकोटमा शिक्षाको विकासमा समेत उनको सहयोग छ।

सन् २००७ मा शुरु क्रिस फुड लिमिटेडका सञ्चालक तिमल्सेनाको नेपालमा होटल, प्रोपर्टी, हाइड्रो लगायतमा लगानी छ।





Comments

comments

Leave a Reply

18888