पिपलको रुखले जोगायो ११ को ज्यान

माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन। अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो। एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन्।

२७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो। घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो। पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन्। अन्नपूर्णमा खबर छ।

त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए। ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन्। चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए। समाका दुई छोरा दुई छोरी छन्। ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो।’ बाढी पसेपछि उनको बस्ने बास छैन। माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन्। ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो।’

उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो। चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो। उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे। एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए। राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे। आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन्। पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्‍याएका थिए। ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको।’

अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो। दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्‍यो। खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए। ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो। कतिले ज्यानको आस नै मारेका थिए। बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने।

प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ।रातभर सबै जाग्राम बसे। पानीको सतह बढेपछि यताउता जान सकेनन्। पटक-पटक बाढीले सताएर त्रसित बनेकाहरू यसपटक पनि ठूलै क्षति हुने आकलन गर्दै थिए। शनिबार पनि पानी पर्ने संकेत देखिएपछि उनीहरू झन् अत्तालिएका थिए।

मुख्य सडकको दुई वटा पक्की पुल नै भत्काएको छ। धोवाह, रतनी , अमिलिया, सिमरा, बनकठ्ठा, सेरुवा, लक्ष्मीनिया, ढिकुरपोखरी, भैरवपुरलगायत क्षेत्र बढी प्रभावित बनेको छ। मूल सडकको दुई वटा पुलसहित १० वटा पुल भत्काएको छ। १६ वटा माछापोखरीमा क्षति पुगेको छ। वसन्तपुरबाट पूर्वको टेलिफोन अवरुद्ध भएको छ। बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा लगिएको नगरपालिकाका मेयर ठाकुर ढकालले बताए। ‘तत्कालका लागि राहत र उद्धारको काम गर्‍यौं’, उनले भने, ‘माडीलाई बाढीबाट जोगाउन पछि दीर्घकालीन योजना ल्याउँछैाँ।’

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तैनाथ गरिएको छ भने चितवन राष्ट्रिय निकुञ्जको दुई वटा हात्ती तयारी अवस्थामा राखिएको छ। बाढीबाट प्रभावितलार्इृ सुरक्षित स्थानमा अस्थायी बसोवासको व्यवस्था गरिएको छ। जिल्लास्थित रेडक्रसले खाद्यान्नबाहेक सामग्री सहयोग गरेको छ। जिल्लाको विपद व्यवस्थापन समितिले तत्काल गर्न सकिने आधारभूत काम गरेको जनाएको छ। ‘तत्कालका लागि उद्धारको काम गरियो, क्षति नहोस् भनेर रेस्क्यु टोली राखिएको छ’, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘बाढीले क्षति पुगेका स्थानमा तत्काल अस्थायी संरचना बनाएर व्यवस्थापन गर्ने कुरा भएको छ।’

रिउ खोलाको सतह ५.१० मिटर पुगेको थियो। ३ मिटरभन्दा बढी भए खतराको संकेट मानिन्छ। माडीमा यसअघि ०३० सालमा यस्तै बाढी आएको थियो। त्यतिबेला करिब ४ सय घरधुरीलाई बर्दियामा पुनःस्थापन गएिको थियो। ०५० सालमा आएको बाढीले जनधनको क्षति गर्‍यो। त्यसपछि ०५६ र ०६७ मा ठूलो बाढी आयो। यसपटकको बाढी ०६७ पछिको ठूलो हो। बाढीका कारण माडीको जनजीवन प्रभावित भएको छ।





Comments

comments

Leave a Reply

19260