सामाजिक सञ्जालमा चुनावको विज्ञापन: करोडौं रुपैयाँ बाहिरियो

मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ।

सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज्ञापन एजेन्सीले बताएका छन्।

दुवै चुनावको प्रतिस्पर्धामा रहेका कुल उम्मेदवार संख्याको एक चौथाइलाई आधार मान्दा मात्रै पनि सामाजिक सञ्जालमा स्पोन्सरका नाममा १३ करोड ७७ लाख रुपैयाँभन्दा धेरै रकम बिदेसिएको देखिन्छ।

जुनसुकै सामाजिक सञ्जाल स्पोन्सर गर्न आवश्यक रकम सम्बन्धित सामाजिक सञ्जाललाई पठाउनुपर्ने एक विज्ञापन एजेन्सी सञ्चालकले बताए । उनीहरूले सो रकमबाहेक निश्चित सेवा शुल्क लिने गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा क्रमशः ३ हजार ४ सय ४८ र २ हजार ६२ गरी कुल ५ हजार ५ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये एक चौथाइ अर्थात् १ हजार ३ सय ७७ जनाले पेज तथा कन्टेन्ट स्पोन्सरमा १ लाखका दरले खर्च गर्दा पनि १३ करोड ७७ लाख रुपैयाँ चुनाव खर्चकै रूपमा बाहिरिएको छ । त्यसमध्ये अधिकांश अवैधानिक रूपमा जान्छ।

यसकारण गरिन्छ सामाजिक सञ्जाल प्रवर्द्धन
फेसबुक तथा अन्य सामाजिक सञ्जालका प्रयोगकर्ताले सुविधाअनुसारका पेज तथा आइडी खोल्न सक्छन् । प्रयोगकर्ताको रूपमा व्यक्ति, कम्पनी, ब्रान्ड, संगठनलगायत जो पनि हुन सक्छन् । पछिल्लो समय अनलाइनमा आउने मानिसको संख्या बढ्दै गएको छ । व्यावसायिक उद्देश्य भएका तथा आफ्ना सूचना सामग्री व्यापक बनाउन चाहने प्रयोगकर्ताले धेरैभन्दा धेरै लाइक तथा फलोअर बढाउन पैसा तिरेर आफ्नो आइडी तथा पेजलाई स्पोन्सर तथा प्रमोट गर्न सक्छन्।

यो एक किसिमको विज्ञापन नै हो । सामान्यतया लाइक तथा फलो गरिएका पेज तथा अकाउन्टबाट पोस्ट गरिएका सामग्री मात्रै प्रयोगकर्ताको न्युजफिडमा देखिने हुन्छ । तर, स्पोन्सर गर्दा भने लाइक तथा फलो नगरिएका पेज एवं प्रवद्र्धित सामग्रीसमेत सहजै लक्षित क्षेत्र र समूहका प्रयोगकर्ताको न्युजफिडमा देखिन्छ । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

20749