सरकारी खर्चमा जनप्रतिनिधिको यस्तो मस्ती …

दुनै : डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन्।

त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् । सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन् । शे-फोक्सुन्डो गाउँपालिकाले सबैभन्दा बढी ३५ लाख र मुड्केचुला गाउँपालिकाले सबैभन्दा कम पाँच लाख रुपैयाँ भ्रमणका लागि विनियोजन गरेका हुन्।

शे-फोक्सुन्डोले भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख टासीटुण्डुप गुरुङले जानकारी दिए । उनले ‘माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको विकासका लागि’ भ्रमणमा पठाएको दाबी गरे । ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ’ भन्ने नै मुख्य उद्देश्य रहेको भ्रमण टोलीमा रहेका शे-फोक्सुडो गाउँपालिका-४ का वडाध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए । उनका अनुसार स्थानीय तहमा रहेका विभिन्न खनिज तथा जडीबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोतको संरक्षण र प्रयोग, महिला समूहहरूको सीप विकास, महिलाको रोजगार व्यवस्थालगायत विभिन्न उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्केका हुन्।

माथिल्लो डोल्पाका जनप्रतिनिधि र स्थानीयले हालसम्म पनि नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने र परिचयमात्र दिन कठिन हुने अवस्था रहेकाले यो भ्रमण प्रभावकारी हुने वडाध्यक्ष लामाले दाबी गरे। अन्नपूर्णपोष्टमा खबर छ।

त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी भने अत्याधुनिक अंगुर खेतीको अध्ययन गर्न भन्दै भारतको हिमाञ्चल तथा अन्य खण्डको भ्रमणमा छन् । कृषकलाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न जिल्ला र भारत भ्रमणमा गएको नगरपालिका स्रोतले जानकारी दिएको छ । सबैभन्दा कम बजेट छुट्याएको मुड्केचुला गाउँपालिकाका जनप्रतिनिधि भने देशकै विभिन्न महानगर र गाउँपालिका भ्रमणमा निस्केको प्रमुख दत्तबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘हामीले जम्मा साढे ५ लाख मात्र विनियोजन गरेका छौं । विकसित स्थानीय तहबाट सिकेर आफ्नो तहमा कार्यान्वयन गर्नका लागि भ्रमण गरेका हौं ।’

ठूलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने भ्रमणमा गएका छैनन् । हिउँदको समयमा यसै पनि कर्मचारी जिल्लामा नबस्ने, त्यसमाथि स्थानीय तहका जनप्रतिनिधिसमेत भ्रमणमा निस्केपछि स्थानीयवासीले भने आलोचना गरेका छन् । जनताको काम प्रभावित भएको भन्दै नागरिक समाज डोल्पा र सम्बद्ध संस्थाहरूले माघ ७ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा संयुक्त ज्ञापनपत्रसमेत बुझाएका छन् ।

भ्रमणकै नाममा स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारी जिल्लाबाहिर जाँदा जनताको दैनिक काममा समस्या परेको जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले बताए । नागरिक समाज र सम्बद्ध संघसंस्थाको संयुक्त ज्ञापनपत्र बुझ्दै उनले भने, ‘जनताको काम रोकिनु हुँदैन । भ्रमणमा गएका मात्र नभएर अन्य सबै कार्यालयका कर्मचारी तत्काल जिल्लामा आई सेवा दिनुपर्छ।’





Comments

comments

Leave a Reply

21746