चितवन निकुञ्जमा ‘अनुकूल हाकिम’ खोज्दै दाहाल

१२ निकुञ्जमध्ये आम्दानी र पर्यटक आगमन बढी हुने चितवन निकुञ्जको प्रमुख चयनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका भाइ नारायण दाहालसम्मले चासो देखाएका छन् । नारायण पूर्वसभासद हुन्।

चितवनमा वार्षिक दुई लाख हाराहारी पर्यटक भित्रिन्छन् भने करिब २५ करोड रुपैयाँ राजस्व जम्मा हुन्छ । आम्दानीको ५० प्रतिशत रकम सिधै मध्यवर्ती क्षेत्रको विकासमा खर्च हुन्छ । दाहाल निकुञ्ज रहेको चितवन–३ का प्रतिनिधिसभा सदस्यसमेत हुन् । दाहालले चितवनमा आफूअनुकूल हुने गरी वार्डेन (प्रमुख संरक्षण अधिकृत) पठाउन आफूनिकट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई ताकेता गरेको स्रोतको दाबी छ । मन्त्री बस्नेतले विगतमा गरिएका काजसरुवा फिर्ता गर्न सकिने तर्क गरे । ‘कतिपयलाई फिर्ता र कतिपयलाई राख्न सकिन्छ,’ बस्नेतले कान्तिपुरसँग भने, ‘चितवनबारे ठ्याक्कै निर्णय भएको छैन।’

माघ पहिलो साता निकुञ्ज प्रमुख बनाएर पठाइएका उपसचिव वेदकुमार ढकाललाई यसै साता चितवनबाट काठमाडौं फर्काइएको छ । ढकाललाई हटाउन चितवनका माओवादी नेता र मध्यवर्ती क्षेत्रका बासिन्दाले समेत आफ्ना सांसद एवं माओवादी अध्यक्ष दाहाललाई पटक–पटक ध्यानाकर्षण गराएका थिए । ढकालले ‘ऐन/कानुनमा कडीकडाउ गरेको र विकासको बाधक बनेको’ मध्यवर्ती क्षेत्रका बासिन्दाको आरोप छ । ढकालले जिम्मेवार भएर आफूले काम गरे पनि अन्त्यमा आफूमाथि अन्याय भएको बताए । ‘म बढी जिम्मेवार भएकामा धेरैलाई नपचेको पुष्टि भएको छ,’ उनले भने।

निकुञ्जहरूको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले ‘ढकाललाई बोलाएर आफूले जोगाउन नसकेको’ बताएका छन् । ‘मैले ढकालले राम्रो काम गरिरहेकाले उनैलाई कायम राख्नु उपयुक्त हुन्छ भनेर मन्त्रीज्यूलाई पनि बताएँ,’ महानिर्देशक खडकाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर उहाँले त्यो तपाईंको हेराइ भन्नुभयो ।’ खडकालाई तत्कालीन वनमन्त्री शंकर भण्डारीले महानिर्देशक बनाएका थिए।

निकुञ्जको माडी क्षेत्रका बासिन्दाले निकुञ्ज प्रशासन विकासको बाधक बनेको भन्दै समयानुकूल ऐन बनाउनसमेत पटक–पटक दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । वन स्रोतका अनुसार स्थानीयको ध्यानाकर्षण र दबाबपछि काठमाडौं फर्केर दाहालले वन सचिव डा. विश्वनाथ ओलीलाई समेत बोलाएर निकुञ्जको विकास र अन्य विषयमा छलफल गरेका थिए । दाहालले निकुञ्ज असहयोगी बनेको सचिवसमक्ष गुनासो गरेका थिए ।
महानिर्देशक खड्काले चितवन निकुञ्जमा कसलाई प्रमुख बनाउने भन्ने विषय आफ्नो हातबाट टाढा पुगिसकेको प्रतिक्रिया दिए । सचिव ओलीले ब्यालेन्स मिलाउनका लागि पनि ढकालका ठाउँमा अन्य व्यक्तिलाई पठाउन सकिने भए पनि व्यक्ति चयन भइनसकेको बताए । शुक्लाफाँटा निकुञ्जमा तीन वर्ष प्रमुख रहिसकेका ढकाललाई माघ पहिलो साता चितवन पठाइएको थियो । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23208