प्रचण्ड र बामदेवबीचको सम्बन्धले ओलीलाई झट्का

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले आफ्नो सक्रियतालाई दिन प्रतिदिन बढाउँदै लगेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली चारैतिरबाट आलोचित बनिरहेको बेला गौतमले आफ्नो गतिविधिलाई बढाएका हुन्।

ओलीलाई धेरै विश्वास गर्न नसकेका गौतमले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकटता बढाएका छन्।

गौतमले पछिल्लो पटक नेपाली कांग्रेसका नेता एवम् सांसद अमरेशकुमार सिंहसँग लामो गोप्य वार्ता गरेको खुलासा भएको खबर ‘यूनाइटेड पोष्ट’ साप्ताहिकमा प्रकाशित छ।

केही दिन अघि काठमाडौंको कमलपोखरीस्थित एउटा होटेलमा गौतमले सिंहसँग परामर्श गरेका हुन्।

त्यो वार्तामा गौतमको राजनीति अगाडि बढाउने बारेमा कुराकानी भएको स्रोतको भनाइ छ।

गौतम र सिंहबीच भएको त्यो वार्तामा नेकपाका महासचिव विष्णु पौडेलको पनि सहभागिता रहेको स्रोतले बतायो । वार्तालाई गौतम, सिंह र पौडेलले निकै गोप्य राखेका छन्।

नेकपाका नेता गौतमले डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने चर्चा चलिरहेका बेला कांग्रेस नेता सिंहसंगको यो वार्तालाई धेरैले रहस्यका साथ हेरेका छन् । लुकाउन खोज्दा–खोज्दै पनि गौतम–सिंहको वार्ता लिक भएको छ।

भारतीय गुप्तचर संस्थासँग राम्रो सम्बन्ध रहेका सिंहले पछिल्लो समय आफ्ना गतिविधिहरूलाई सूक्ष्म रुपमा अगाडि बढाएका छन्।

सिंहले प्रचण्डलाई पनि गोप्य रुपमा भेट्ने गरेका छन् । प्रचण्डसँग खुमलटारमै तीन महिना यता एक दर्जन पटक सिंहले भेटघाट गरिसकेका छन्।

प्रधानमन्त्री ओलीसँग भने सिंहले धेरै निकटताको सम्बन्ध बनाएका छैनन् । निर्वाचन अगाडिसम्म ओलीसँग राम्रो सम्बन्धमा रहेका सिंह किन बदलिएका हुन् केही बताइएको छैन ।

ओलीले दुईतिहाई बहुमतको दम्भ देखाएर भारतसंग चीन कार्ड खेलेपछि कांग्रेस नेता सिंह टाढिएको भनेर विश्लेषण हुने गरेको छ ।





Comments

comments

Leave a Reply

24260