नेपालीलाई कुटपिट गरेको भन्दै चार सय नेपाली कामदार हडतालमा

मलेसिया, २३ कार्तिक। कम्पनीका व्यवस्थापकले कामदार कुटेपछि मलेसियाको मआरस्थित वेगमेन्स फर्निचर कम्पनीमा कार्यरत चार सय नेपाली हडतालमा उत्रेका छन्। कुटपिटको विरोधमा उनीहरूले गत शुक्रबारदेखि काम ठप्प गरेका हुन्।

कम्पनीमा कार्यरत धनुषाका सञ्जय यादवलाई कम्पनी व्यवस्थापकले काठ प्रहार गरी घाइते बनाएपछि यहाँ कार्यरत चार सय नेपाली काम बन्द गरी आन्दोलित भएका छन्।

घाइते यादवलाई सामान्य उपचारपछि होस्टेल पठाइएको मुहारबाट राजेश भुजेलले जानकारी दिए। कम्पनीमा करिब चार सयभन्दा बढी नेपाली, करिब एक सयभन्दा बढी बंगाली र केही भियतनामी कार्यरत छन्। आन्दोलनमा उत्रिएका नेपालीलाई कम्पनी व्यवस्थापनले आन्दोलन फिर्ता गरी काममा आउन आग्रह गरे पनि नेपालीले विभिन्न चार सूत्रीय माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनमा उत्रिएका केही नेपालीलाई कम्पनीले घर पठाउने धम्कीसमेत दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ।

मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। हाल मलेसियामा करिब सात लाखदेखि आठ लाख नेपाली कार्यरत रहेको अनुमान छ। यसमध्ये अघिल्लो आर्थिक वर्ष २०७०/७१ मा मात्र दुई लाख नेपाली श्रमिक मलेसियामा रोजगारीको लागि गएका थिए।

आन्तरिक बजारमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसकेकाले नेपाली युवा बिदेसिन बाध्य भएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोज महिनामा मात्रै १३ हजार नौ सय ७६ जना नेपाली रोजगारीका लागि मलेसिया गएका छन्।





Comments

comments

2747